वेपत्ता छोरो खोजिरहेको बाउआमाको कथा हो ‘पानी फोटो’


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित




पोखरा । तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि दश वर्षसम्म जनयुद्धको नाममा सशस्त्र द्वन्द्व ग¥यो । त्यो द्वन्द्वको क्रममा कयौं मानिसले ज्यान गुमाए । कयौं वेपत्ता र घाईते भए । ज्यान गुमाउनेहरु त मरेर गए सकियो । तर वेपत्ता हुनेको अवस्था अझै पत्ता लाग्न सकेको छैन । जसका कारण सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भएको डेढ दशक बितेपनि वेपत्ता परिवार प्रताडित छ । अहिलेपनि छोरोको खोजिमा भौतारिरहनुपरेको छ । नेपाली चलचित्र ‘पानी फोटो’ले यहि कथा भनेको छ ।

यहि साउन १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र प्रदर्शनमा आउने भएपछि यसको टिम प्रचारप्रसारका लागि देश दौडाहामा निस्केछ । सोहि क्रममा चलचित्रका निर्माता, निर्देशक, कथाकार तथा कलाकार खगेन्द्र लामिछाने पोखरा आएका छन् । उनले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर चलचित्र राम्रो बनेकाले दर्शकको साथ र माया पाउने विश्वास व्यक्त गरे ।

म आफैपनि मामा गुमाएको भाञ्जा हुँ,उनले भने,‘मेरो मावली हजुरआमा, माईजू, मलगायत मामाको खोजी गरिरहेका छौं, वेपत्ता हामीजस्तै परिवारको कथा भन्ने प्रयास ‘पानी फोटो’मा गरिएको छ ।’ उनले धेरै अगाडि लेखेको कथालाई बल्ल चलचित्रको माध्यमबाट भन्ने प्रयास गरेको बताए । ‘यो कथा भन्ने धेरै अगाडिदेखि सपना साँचेर राखेको थिएँ । त्यो सपना पूरा गरेको छु’–उनले भने । माओवादी सशस्त्र द्वन्द्वले सकारात्मक सन्देशहरुपनि दिएको छ,उनले भने,‘सचेतना जगाउने, अधिकार स्थापित गर्ने, कथित दलित र मजदुरले शीर उठाएर जोकसैसँग भन्न सक्ने स्थितिपनि बनाएको छ । तर कयौं नकारात्मक प्रभावहरु छाडेर गएको छ द्वन्द्वले । तीनै धेरै कथाहरु मध्येको एउटा कथा हो ‘पानी फोटो’ ।

लामिछानेले चलचित्रमा पक्षधरता (फेभरिजम) नदेखाई चलचित्र बनाएको दाबी गरे । मैले कथालाई न्याय दिने प्रयास गरेको छु,उनले थपे,‘स्टोरी टेलर (कथाकार) न्यूट्रल हुनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसमा अडिग रहेर तटस्थ रहेर ‘पानी फोटो’को कथा भनेको छु । आशा छ दर्शकको माया र साथ पाउनेछु ।’ उनले कथामा देखाएको चरित्रकै कारण चलचित्र विवाद (कन्ट्रोभर्सी) नआउने विश्वास व्यक्त गरे । उनले भने,‘तर आएपनि म त्यसकाबिरुद्ध लड्न तयार छु । किनकी मैले कसैको पक्षधरता लिएर कथा भनेको छैन ।’

तीनै कथाहरु मध्येको एउटा कथा हो पानी फोटो । कुनै कालखण्डमा भएको घटना, जसको कारणले त्यो पूरै परिवारले पीडा भोग्छ । त्यो कालखण्डको कुराले अहिलेको कालखण्डमापनि प्रभाव पारिरहेको हुन्छ । त्यसको प्रभाव अहिले के छ समाजमा ? यो चलचित्रले त्यहि देखाउँछ । त्यतिबेला हराएको छोरो खोजिरहेको बाउआमाको कथा हो ‘पानी फोटो’ ।सर्जक वा स्टोरी टेलर न्यूट्रल हुन्छ । मैलेपनि तटस्थ रहेर कथा भन्ने प्रयास गरेको छु । यो चलचित्रले माओवादीको कथा भनेपनि यो विवादित (कन्ट्रोभर्सी) बन्दैन । तर बन्यो भनेपनि मलाई फरक पर्दैन । म भिड्न तयार छु । किनकी मैले कथालाई न्याय गरेको छु ।

लामिछानेले आफूले रहरले मात्र नभई कथालाई न्याय गर्न चलचित्रको निर्देशन गरेको बताए । कुनैकुनै कथा आफैलाई भन्न मनलाग्दो रहेछ,उनले भने,‘कथालाई न्याय गर्नको लागिपनि । नत्र कथाको न्याय मर्छ कि भनेरपनि हो ।’ उनले ‘पानी फोटो’कै लागि भनेर दुई वर्षदेखि कुनैपनि चलचित्र नगरेको बताए ।
चलचित्रका कलाकार माओत्से गुरुङलेपनि चलचित्र राम्रो बनेकाले दर्शकको माया पाउने विश्वास व्यक्त गरे । उनले चलचित्रको कथा मन परेकैले आफूले काम गरेको बताउँदै भने,‘जोसँग क्रियसन छ । आत्मियता छ । उसँग न रोल सोधिन्छ नत पैसा (पारिश्रमिक) नै । क्रियसन र आत्मियताका कारण सिधै ओके भनिन्छ । ‘पानी फोटो’मा मैले त्यसै गरेको हुँ ।’

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले टककजङग भर्सेज टुल्के, पशुपतीप्रसादजस्ता चलचित्र बनाएका खगेन्द्र लामिछानेबाट दर्शकले त्यहि प्रकारको नया स्वाद र स्तरियता खोज्ने र त्यसमा खगेन्द्र खरो उत्रिनेमा आफू विश्वस्त रहेको बताए ।

चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन स्याङ्जा, बर्दिया, रोल्पा, ललितपुरसहित काठमाडौं उपत्यकामा गरिएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।