काँग्रेस नेत्री सोनिया गान्धीको बयान जारी


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काँग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले बुधबार पनि सोधपुछ गरेको छ ।

इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियङ्का गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन् । इडीका अधिकारीले ७५ वर्षीया गान्धीलाई मंगलबार छ घण्टाभन्दा बढी समय बयान लिएका थिए । नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी यङ्ग इन्डियन प्रालिमा उनको संलग्नताका बारेमा ३० वटा प्रश्नको जवाफ मागिएको थियो ।

यसैबीच, काँग्रेस कार्यकर्ताले नेत्री गान्धीमाथि गरेको सोधपुछको विरोधमा प्रदर्शन गरेका छन् । राजस्थानका मुख्यमन्त्री एवम् काँग्रेस नेता अशोक गहलोतले देशमा इडीको आतङ्क फैलिएको टिप्पणी गर्दै सर्वोच्च अदालतबाट समयमै निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।

काँग्रेस कार्यकर्ताले इडीको पार्टीको अन्तरिम अध्यक्षको ईडीको सोधपुछको विरोध गर्दै मुम्बईको बोरिवली रेलवे स्टेशनमा रेल रोक्न प्रयास गरेका छन् । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काँग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

रासस/एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।