सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

दमौली । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८-७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप÷कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए । दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए ।

आर्थिक वर्ष २०७७-७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन् । आव २०७६-७७ मा ४४ तथा आ.व. २०७५-७६ मा ६० जनाको सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए । “तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ”, नेपालले भन्नुभयो, “युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।