पोखरा । पोखरामा शुक्रबारदेखि मेयर सम्मेलन शुरु हुँदैछ । पोखराको पर्यटकीय गन्तव्य सराङ्कोटमा शुक्रबारदेखि देशभरका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको हो ।
पोखरा महानगरपालिकाको आयोजनामा हुने मेयर सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनमा आयोजक पोखरा महानगरपालिका, काठमाडौ महानगरपालिका, विराटनगर महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा सहभागि हुन महानगरपालिकाका मेयरहरुको आगमन शुरु भएको छ । निम्तो मान्न ललितपुर र वीरगञ्ज महानगरपालिकाका मेयरहरु पोखरा आईपुगेका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर मञ्जली शाक्य बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल विहीबार अपराह्न पोखरा आईपुगेका हुन् । त्यस्तै, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर ईम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालपनि विहीबार अपराह्न पोखरा आईपुगेका छन् ।
अन्य मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतहरु शुक्रबार विहान पोखरा आईपुग्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । आउने क्रम शुरु भएको छ,उनले भने,‘भोलि विहानसम्म सबै आईपुग्नु हुन्छ ।’ उनका अनुसार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल शुक्रबार विहान स्थल मार्गबाट पोखरा आउने कार्यक्रम छ । त्यस्तै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) पूर्वाह्न ११ बजे पोखरा आईपुग्ने कार्यक्रम छ भने विराटनगरका मेयर नागेन कोईराला विहान ७ बजेको फ्लाईटबाट काठमाडौं ट्राञ्जिटहुँदै पोखरा आईपुग्ने पोखराका मेयर आचार्यले जानकारी दिए ।
विहीबार पोखरा आएका ललितपुर र वीरगञ्ज महानगरपालिकाका मेयरसहित सबै अतिथिहरुलाई पोखराको लेकसाईडस्थित होटल वाराहीमा राखिएको छ । शुक्रबार आउने मेयरसहित सम्पूर्ण अतिथिलाई होटल वाराहीमै स्वागत गरेर त्यसपछि सराङ्कोट लगिने मेयर आचार्यले बताए । अतिथिहरुलाई सराङ्कोटको सराङकोट माउण्टेन लजमा बस्ने ब्यबस्था मिलाईएको उनले जानकारी दिए । बसेको होटलमै दुई दिनसम्म कार्यक्रम चल्ने मेयर आचार्यले बताए ।
सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने मेयर आचार्यले जानकारी दिए । उनले गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भएपनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौति र अवसर पहिल्याउन सम्मेलन आयोजना गरिएको बताए । ‘सम्मेलनले पोखरा घोषणा पत्रपनि जारी गर्छ र उक्त घोषणा पत्र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्छौं’–उनले भने ।
सम्मेलनको पहिलो दिन महानगरका सबै मेयरहरुले पालैपालो सम्बोधन गर्ने भएका छन् । सम्मेलनको कार्यतालिकामा पोखरा, काठमाडौ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ ।
त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुती दिनेछन् । सोहि दिन महानगरका उपप्रमुखहरुले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाई आदानप्रदान गर्ने जनाइएको छ भने प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’बारे आफ्नो धारणा सुनाउने कार्यसूची रहेको पोखराका मेयर आचार्यले जानकारी दिए ।
सम्मेलनको दोस्रो दिन पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ । उनको प्रस्तुतीपछि सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती’ तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्मेलनको अन्तिममा मेयर सम्मेलनको घोषणापत्र जारी गर्दै सम्मेलन सकिने जनाइएको छ ।
सम्मेलनमा पत्रकारलाई प्रवेश निषेध
मेयर सम्मेलनमा पत्रकारलाई प्रवेश निषेध गरिने भएको छ । मेयर सम्मेलनको दुबै शत्रमा पत्रकारलाई प्रवेश नदिईने पोखराका मेयर धनराज आचार्यको सचिवालयले जनाएको छ ।
सम्मेलनअघि पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिईने तर कार्यक्रममा प्रवेश नदिने तयारी भएको हो । सम्मेलनको जानकारी दिन पत्रकारलाई शुक्रबार विहान होटल वाराही लेकसाईडमै बोलाइएको छ । ‘पत्रकारलाई होटल वाराहीमै सम्पूर्ण जानकारी दिईनेछ । त्यसपछि मेयरहरुको टोली सराङ्कोट प्रस्थान गर्नेछ । पत्रकारलाई त्यहिं विदाई गरिनेछ’–सचिवालय श्रोतले भन्यो । सम्मेलन भनिएपनि यो क्लोज क्याम्प भएकाले पत्रकारलाई प्रवेश नदिईने पोखराका मेयर आचार्यको भनाई रहेको उनले उल्लेख गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





