एसईईमा उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी संख्या न्यून


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित




राष्ट्रिय परीक्षा बोर्डले बुधवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या न्यून रहेको छ ।

बोर्डका अनुसार उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३ जना छन् । उक्त संख्या कुल परीक्षार्थीको १ दशमलव ९४ प्रतिशत मात्र रहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । सदस्यसचिव अर्यालका अनुसार गतवर्ष एसईईको परीक्षामा कुल ४ लाख ९५ हजार ७५१ परीक्षार्थी सहभागी थिए ।

सार्वजनिक नतीजा अनुसार ४१ हजार ६२७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए प्राप्त गरेका छन् । त्यस्तै ६९ हजार ९०० ले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।

१ लाख १२ हजार ७३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, १ लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए र ४४ हजार ५८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याएका छन् ।

त्यस्तै ३ हजार २८० विद्यार्थीले शून्य दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएका छन् । परीक्षामा २२ हजार ६४० जना विद्यार्थी अनुपस्थित रहेको बोर्डले बताएको छ । अनुपस्थित हुनेको सो संख्या कुल परीक्षार्थीको ४ दशमलव ५७ प्रतिशत हो ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।