दमौलीमा डेङ्गुका सात बिरामी भेटिए


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित




तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सातजनामा डेङ्गुको लक्षण भेटिएको छ ।

अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् ।

पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिएका छन् । उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन् ।

बिहीबार इमर्जेन्सीमा चार र ओपीडीमा तीनजनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिए । एकसय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् ।

उनले भने, ‘बिरामीको अवस्था गंभीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।”

रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताए । लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।