साफ यु–२० च्याम्पियनसीप : नेपालले आज भारतसँग खेल्दै


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित




२० वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।

च्याम्पियनसीप अन्तर्गत २ देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता पनि हो ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ ।

नेपाललाई हराएमा भारतको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले जितेमा नेपाल र बंगलादेश फाइनलमा पुग्नेछन् भने बराबरी भएमा बंगलादेश फाइनल पुग्ने पहिलो टोली हुनेछ । दोस्रो टोलीका लागि लिग चरणको अन्तिम दिन कुर्नुपर्नेछ ।

प्रतियोगिताको अंक तालिकामा बंगलादेश शीर्षस्थानमा छ । उसको ३ खेलमा ९ अंक छ । नेपाल दोस्रो स्थानमा छ । नेपालको २ खेलमा ६ अंक छ । भारत २ खेलमा ३ अंकसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेका माल्दिभ्स र श्रीलंकाले अंक जोड्न सकेका छैनन् । माल्दिभ्स र श्रीलंक करिब करिब प्रतियोगिताबाट बाहिरिसकेका छन्। उनीहरुले अब खेलका लागि मात्रै १/१ खेल खेल्नेछन् ।
प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले मंगलवार बंगलादेशसँग खेल्नेछ । फाइनल खेल शुक्रवार हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।