नक्कली नागरिकता प्रकरण छानबिन सुरु


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित





वीरगञ्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ ।

वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट ३३ ÷०२÷०७९÷००५१३ नंको नागरिकता लिएको देखिएको छ ।

सो घटनाबारे छानबिन थालिएको छ । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

राईको जन्म मिति २०५८÷११÷१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९÷०२÷२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ ।

झुटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ–१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ ।

रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ । उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुबाको नाम किशोर राई जन्म तारिख १९८९÷०३÷२४ रहेको छ । त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई ९सिङ्गर० र पति छेडुप सिङ्गरसमेत लेखिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।