कोरोनाको उपचारका लागि १७ अस्पताल


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित





काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् । यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय त्रिवि अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।