प्रसिद्ध साल्पा सिलिचुङ ओझेलमा


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित




तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट भ्रमणका लागि पुगेका आन्तरिक पर्यटक । मानहुँकोट दशैं बिदामा घुमघामको उपर्युक्त गन्तव्यस्थल बन्न पुगेको छ । तस्वीर: कृष्ण न्यौपाने, रासस


भोजपुर । धार्मिक तथा पर्यटकीय महत्वको भोजपुरको सबैभन्दा अग्लो साल्पा सिलिचुङ चुचुरोसँगै साल्पा पोखरी प्रचारप्रसारको कमीले ओझेलमा परेको छ । समुन्द्री सतहबाट चार हजार १५३ मिटर उचाइमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथासँगै अन्य हिमालहरु प्रष्ट देख्न सकिन्छ । चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरु आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजाका लागि पुग्ने गरेका छन् । यहाँ वर्षमा चार पटक मेलासमेत लाग्ने गरेको छ । बैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयवासीको को भनाइ छ ।

यहाँ भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुलगायत ठाउँबाट भक्तजनहरु पुग्ने गरेका छन् । यहाँका टेम्के डाँडा, मैयुङ डाँडामध्ये सिलिचुङ डाँडा सबैभन्दा अग्लो डाँडाका रुपमा स्थापित छ । टेम्के डाँडाको उचाइ समुन्द्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ । त्यस्तै मैयुङ डाँडाको उचाइ तीन हजार ३३३ र साल्पासिलिचुङ डाँडाको उचाइ चार हजार १५५ मिटर छ । यो स्थानलाई सबै धामीझाँक्रीले गुरु मान्ने गरेका छन् ।

खास गरेर स्थानीयवासी मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ त्यहाँ पुग्छन् । खास गरेर बोली नफुटने, बोल्न नसक्ने र सन्तान नहुनेलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रहेको स्थानीयवासी पवन खत्रीले जानकारी दिए । यो सिलिचुङ डाँडाबाट नेपालको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट नियाँल्न सकिने उनको भनाइ थियो । साल्पा पोखरी कचौरा आकारमा फैलिएको छ । स्थानीयवासीका अनुसार समय समयमा यस पोखरीको रङ्गसमेत फेरिने गर्दछ ।

यो ठाउँलाई किरात राईहरुले सबैभन्दा अग्लो स्थानमा रहेको पुख्र्यौली भगवान् भनेर मान्ने गरेका छन् । उनीहरुले हरेक दुःखसुखमा साथ दिने आस्थाको प्रतीकका रुपमा लिने गरेका छन् । साल्पा पोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले यहाँको विकासमा जोड दिने गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले बताए । गाउँपालिकाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले जानकारी दिए ।

गाउँपालिकाले अहिले पोखरीको थप संरक्षणसँगै तीर्थ यात्री तथा पर्यटकहरुलाई लक्षित गरेर पाटीपौवा, शौचालय, विश्राम स्थल तथा खानेपानी व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए । यो क्षेत्रमा रेडपाण्डा लगायतका धेरै प्रकारका जीवजन्तु, विभिन्न बहुमूल्य जडीबुटी पाइने भएकाले संरक्षित क्षेत्रको रुपमा समेत विकास गर्ने अध्यक्ष राईको भनाइ थियो । नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ ।

मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै साल्पासिलिछो गाउँपालिकाले पनि पदमार्ग निर्माण गरेर अरुण उपत्यका हुँदै कञ्चनजङ्घासम्म करिब ६० किलोमिटर मार्ग निर्माण गर्ने लक्ष्य लिएको उक्त गाउँपालिकाले जनाएको छ । यो पदमार्गको नाम ‘सोप्तुङ ट्रेल’ राखिएको छ । यो ट्रेललाई दोभानेको जौवारी आहाले, खाटम्माको साकेचुङ ढुङ्गा, चौकी डाँडाको डेली ढुङ्गा हर्कटे शाल्पा, कुलुङ गोरुकाटे डाँडा, काम्लेटार, बुम्लिङटार योगमाया तपोभूमि गौँडेनी अरुण उपत्यका हँुदै मकालु कञ्चनजङ्घासम्म विस्तार गरिने अध्यक्ष कुलुङले जानकारी दिए।

यो क्षेत्रलाई विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर गाउँपालिकाको आर्थिक स्रोतमा वृद्धि गर्न सकिने त्यस क्षेत्रका जानकार स्थानीयवासी चन्द्र खत्रीले बताए । यसको विकास र प्रचारप्रसार गर्न सके ताप्लेजुङको पाथीभरा जस्तै प्रख्यात हुने उनले बताए । चिताएको पूरा हुने विश्वासले मानिसहरु चारदेखि पाँच दिनसम्म लगाएर दर्शनका लागि आउने गरेका छन्। तेन्जिङ हिलारी त्यहीँबाट भएर सगरमाथा आरोहणका लागि गएका थिए ।

तीन जिल्लाको सङ्गमस्थलमा रहेको भए पनि यो क्षेत्र भोजपुरमा पर्ने यहाँबाट एक हजार १० मिटर पर कुलुपङ्खुमा खोटाङ, सिचुङ चुचुरोबाट पश्चिम पाँच सय पर मिटरमा सोलुखुम्बु र उत्तरपट्टि करिब सय मिटर पर सङ्खुवासभाको भूभाग पर्छ । यहाँ महोत्सव आयोजना गरेर २०६८ मा यस क्षेत्रलाई समेटिएको हुलाक टिकटसमेत प्रकाशित गरिएको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।