पोखराको दोविल्लाघाटमा वृक्षारोपण गरिएको छ ।
दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले आयोजना गरेको उक्त कार्यक्रममा बिरुवा गोडमेल, सरसफाई र आर्थिक सहयोगको कार्यक्रम समेत गरिएको छ ।
कार्यक्रममा सहभागि पोखरा महानगर वडा नं.२१ का वडाध्यक्ष दीपक सुवेदीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको सहयोग लिएर अगाडि बढ्ने बताए । वडाध्यक्ष सुवेदीले दोविल्लाघाटको संरक्षण र विकासका लागि वडाले पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
पोखरा–२१ स्थित सेती नदी किनारमा सय रोपनी क्षेत्रफलमा रहेको सो घाटलाई प्राकृतिक रुपमा मनोरम बनाउनका लागि स्थानीयकै सक्रियतामा विगत केही वर्षयता बृक्षारोपणसँगै त्यसको उचित संरक्षण गरिंदै आएको छ ।
उक्त घाटको सार्वजनिक उपयोगका लागि शौचालय, प्रतिक्षालय, शव जलाउन आवश्यक पर्ने दाउराहरु राख्न सुविधासम्पन्न भवनहरु पनि निर्माण गरिएको अध्यक्ष रायमाझीले जनाए ।
आगामी दिनमा सो पार्क तथा घाट रहेको क्षेत्रलाई धार्मिक तथा सामाजिक रुपमा विकास गरेर पर्यटकीय स्थलका रुपमा अगाडि बढाइने उनको भनाई छ । मलामी बिश्राम गृह, दाउरा संरक्षण गोदाम तथा शौचालय ललितपुरस्थित ध्रुव थापा स्मृती प्रतिष्ठानका अध्यक्ष तिलकुमारी थापाको सहयोगमा बनेको हो ।
कार्यक्रममा वडाकै बासिन्दा भई हाल अमेरिकामा रहेका समाजसेवी गोपाल रायमाझी र श्रीमति शशी रायमाझीले घाटको संरक्षण तथा विकासका लागि नगद १ लाख ८ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी रायमाझी दम्पतिले स्थानीय अशक्त र दलित ९ जना महिलाहरुलाई जनही नगद ७ हजार सहयोग रकम पनि हस्तान्तरण गरे । राजमाझी दम्पतिले स्थानीय रघैचौर आमा समूहलाई नगद २१ हजार, भैरवकोट मन्दिरलाई नगद ११ हजार, केशरमाला मन्दिरलाई नगद ११ हजार तथा रघैचौर भगेँर देउता मन्दिरलाई पनि नगद ११ हजार रुपैँयाँ सहयोग गरेका छन् ।
सो अवसरमा हलेदे, शिवालय, बाझीपोखरी, निर्मलपोखरी, लामाखेत, दुवार, रघैचौर, फेदीपाटन, दोविल्ला, महतगौंडा, बिरौटालगायत क्षेत्रका स्थानीयहरुको सहभागिता रहेको थियो । सेतीनदी र स्थानीय फुस्रेखोलाको दोभानमा रहेको दोविल्लाघाट पोखरा महानगरपालिकाको वडा नं २१ मा पर्दछ । महानगरको वडा नं २१, १७ र ३३ तथा स्याङ्जाको उत्तरी भेगका बासिन्दाले परापूर्वकालदेखि नै सो ठाँउलाई घाटको रुपमा उपयोग गर्दै आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







