बागझोरामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित




मकवानपुर । अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ ।

बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन् ।

बागझोरासँगै भैँसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको र बाढी कम हुने वित्तिकै यातायात सेवा पुनः चालु गराइनेछ ।

हाल यातायात सेवा अवरुद्ध हुँदा हेटौँडा काठमाडौँ मात्रै नभइ दामन,पालुङ, सिखरकोट र मार्खुसम्मका सवारी साधनलाई असर पुगेको छ । मकवानपुरमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।