बुर्तिवाङ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटनमा रहेको बुर्तिवाङ प्राथमिक स्वस्थ्य केन्द्रबाट पहिलो पटक विशेषज्ञ सेवा दिन थालिएको छ । पश्चिम क्षेत्रको निसीखोला, ढोरपाटन र तमानखोला गरी तीन पालिकाका जनतालाई स्वास्थ्य सेवा दिइरहेको प्राथमिक स्वस्थ्य केन्द्रले पहिलो पटक साउन १ गतेदेखि विशेषज्ञ सेवा दिन थालेको छ ।
स्वास्थ्यकेन्द्रले पछिल्लो पटक दरबन्दी भन्दा बढी जनशक्ति परिचालन गरी स्वस्थ्य सेवा दिँदै आएकोमा अवदेखि विशेषज्ञ सेवासमेत दिन थालेको हो । प्राथमिक स्वस्थ्य केन्द्रमा हालसम्म चारजना मेडिकल अधिकृत कार्यरत रहेकोमा साउन १ गते देखि जनरल फिजिसियन डा डिबी क्षेत्री हाजिर भएर सेवा दिन थालेका छन् ।
स्वास्थ्य केन्द्रमा अहिले बिरामीको चाप उच्च रहेकाले भएका जनशक्तिले समेत सेवा दिन हम्मेहम्मे परिरहेको अवस्थामा विशेषज्ञ सेवा दिन थालिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा नीरज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार एक जना विशेषज्ञ सेवासहित एनेस्थेसिया र स्टार्फ नर्स गरी तीन स्वास्थ्यकर्मी दुर्गमको स्वास्थ्य उपचारमा काम गर्दै आएको गैरसरकारी संस्था निक साइमण्ड इन्स्टिच्युटले व्यवस्थापन गरेको हो ।
इन्स्टिच्युटले गत आर्थिक वर्षमा शल्यक्रियाका लागि समेत रु १० लाख बराबरको उपकरण सहयोग गरिसकेको छ । इन्स्टिच्युटले तलब व्यवस्थापन गर्ने गरी जनरल फिजिसियन डा क्षेत्रीसँगै एनेस्थेसिया कुशलराज भट्टराई र शल्यक्रियाको तालिम प्राप्त स्टाफ नर्स जानकी डाङ्गीलाई साउन १ गतेदेखि स्वास्थ्य केन्द्रमा सेवा दिन पठाएको हो । स्वास्थ्य केन्द्रले सामान्य प्रकारका सबै शल्यक्रिया गर्नसक्ने जनशक्ति र उपकरण व्यवस्थापन गरेको छ ।
बुर्तिवाङ स्वास्थ्य केन्द्रले हालसम्म शल्यक्रियामार्फत सुत्केरी, वहिरङ्ग, आकस्मिक, गर्भवती, शल्यक्रिया, प्रयोगशाला, फार्मेसी, दन्त, आँखा रोगको उपचारसँगै एक्सरे र पोष्टमार्टम सेवा समेत प्रदान गर्दै आएको छ ।
उहाँले निक साइमण्डले पठाउने भनेको थप दुई जना स्वास्थ्यकर्मी आएपछि अस्पतालले बिरामी भर्ना नै गरेर राख्न सक्ने गरी सेवा दिने योजनामा स्वास्थ्य केन्द्र रहेको छ ।
विशेषज्ञ सेवा दिन थालेपछि शल्यक्रियमार्फत सुत्केरी, हाइड्रोसिल, हर्निया, एपेन्डिक्स र सामान्य हड्डीको शल्यक्रिया सेवा थप भएका छन् । निक साइमण्डले व्यवस्थापन गरेको बाहेक स्वास्थ्य केन्द्रमा अहिले डा सुवेदीसहित मेडिकल अधिकृत डा अनिश थापा, डा अमृता बराल र डा अनिल केसी कार्यरत रहेका छन् ।
पछिल्लो समय सेवामा सुधार गर्दै आएको स्वास्थ्य केन्द्रले भौतिक पूर्वाधार पर्याप्त भए पनि स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गर्न सकिरहेको छैन । बागलुङमा हाल जिल्ला अस्पताल छैन ।
बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर जिल्ला अस्पताल बनाउनेगरी भौतिक पूर्वाधार निर्माण भए पनि स्तरोन्नति हुन नसक्दा स्वास्थ्यकेन्द्रकै दरबन्दीमा सेवा दिन बाध्य छ । तर स्वास्थ्य केन्द्रमा आउने बिरामीको चाप र भौगोलिक विकटता र यसले प्रदान गर्ने स्वास्थ्य सेवा तीन पालिकामा रहेकाले करारमा भए पनि अतिरिक्त चिकित्सकले सेवा दिइरहेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







