काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठकमा उनले जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन । “तपाईँहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्”, प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भने, “जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।”
उनले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारीसाधन सुविधा र इन्धन नदिन पनि निर्देशन दिएका हुन । इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधा पाए नपाएको लगत हेरेर कटौती गर्न निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले छ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुने गरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । विद्युत् खपत बढाउने, निर्यातलाई प्रवद्र्धन गर्नेलगायत काम सबै मन्त्रालयले योजना बनाएर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
उनले भने, “मेरो नेतृत्वमा पाँच राजनीतिक दलको सहभागितामा वर्तमान सरकार गठन भएको एक वर्षको अवधि पूरा भएको छ । यस अवधिमा सरकारले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्दै स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको छ । स्थानीय तहले नयाँ नेतृत्व पाएसँगै विकास र सेवा प्रवाहमा नयाँ उत्साहका साथ परिचालित भएका छन् ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





