मुग्लिन–नारायणगढ सडक खण्ड पहिरोले फेरि अवरुद्ध


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले फेरि अवरुद्ध भएको छ।

करिब २३ घण्टापछि मंगलबार पहिरो पन्छाएर खुलेको सडक त्यसको ४ घण्टा नवित्दै पुनः अवरुद्ध भएको हो।

भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो दुबैतर्फ अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रहरी प्रवक्ता नरहरि अधिकारीले एभरेस्ट आवाजलाई जानकारी दिए । राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चलेपनि फेरि पहिरो खस्दा ठप्प भएको छ ।

अहिले त्यहाँ पहिरो हटाउने र बाटो खुलाएर सवारी आवागमनका लागि प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताए । डीएसपी अधिकारीका अनुसार हाल त्यहाँ ३ वटा जेसीभीलाई पहिरो हटाउने कार्यमा परिचालन गरिएको प्रहरीले जनाएको छ। पहिरो हटाउने कार्यमा कुनै बाधा नआए अबको २/३ घण्टापछि पहिरो पन्छाइ सक्ने र सवारी आवागमन खुल्न सक्ने प्रहरी प्रवक्ता अधिकारीले बताए ।

अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।