सुनसरी । सुनसरीको गढी गाउँपालिकामा आधारभूत अस्पतालको निर्माण पुनः सञ्चालन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । नागरिक समाज औरावनी सुनसरीले गाउँपालिका क्षेत्रभित्र अस्पताल नहँुदा समस्या हुँदै आएकाले सङ्घीय सरकारको नीतिअनुसार गत वर्ष गढी–२ मा सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको भए पनि अस्पताल निर्माणको काम अगाडि नबढेको भन्दै तत्काल निर्माण गर्नुपर्ने माग गरेका छन् ।
गढी गाउँपालिका–२ का सोभन यादवका नाति श्रीप्रसाद यादवका छोरा विश्म्बर यादवले सङ्घीय सरकारको नीतिअनुसार गत वर्ष नै सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि १६ कट्ठा जग्गा दान गरेको र शिलान्यास गरिएको तर हालसम्म काम अगाडि नबढेकाले स्थानीयवासी र नागरिक समाजको ध्यानाकर्षण भएको स्थानीयवासी देवी काजीले बताए ।
गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको एक वर्ष बढी बित्दासमेत निर्माणका लागि बोलपत्र नभएकाले काम अगाडि बढाउन तत्काल नयाँ बोलपत्र आह्वान गरी अस्पताल निर्माणको स्थानीयवासी मुवारक खाँणले माग गरे ।
गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निकै उल्लासका साथ शिलान्यास गरिएको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माण सुरु नभएकाले स्थानीयहरुको चासोको विषय बनेको खाँणले बताए । भमरीमा निर्माण गरिने १५ शय्याको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर ठेक्काको आह्वान गर्नुपर्नेमा त्यो काम अगाडि नबढेकाले आफूहरुलाई शङ्का लागेको गढी–१ का वडा सदस्य मोहमद भोलाले जानकारी दिए ।
पालिकामा निर्माण गरिने अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा केही बजेट उपलब्ध गराएको भए पनि काम अगाडि नबढेकाले ओझेलमा परेको गढी–२ का निवर्तमान वडाध्यक्ष अरुण चौधरीले जानकारी दिए । प्रेस विज्ञप्तिमार्फत नागरिक समाज औरावनीले भमरीमा अस्पतालको आवश्यक रहेको र हुलाकी मार्गमा पर्ने तथा सबै वडालाई पायक पर्ने भएकाले तत्काल बोलपत्र आह्वान गरी निर्माण कार्य पुनः सञ्चालन गर्नुपर्ने माग गरेको हो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







