मन्त्री कार्कीसहितको टोलीद्वारा बाँध फुटेको क्षेत्रको स्थलगत अनुगमन


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




इनरुवा । सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोँच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख सहभागी रहनुभएको छ । अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रजिअ इन्द्रदेव यादव र उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादव, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, सप्तकोसी नगरपालिकाका कृष्ण्प्रसाद ढकाल र कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की तथा सशस्त्र र नेपाल प्रहरीका अधिकारी घटनास्थलमा उपस्थित भएर सुरक्षा र उद्धार कार्यमा सहजीकरण सहितको विषयमा अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

सप्तकोसीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्न सक्ने भएकाले त्यहाँका सर्वसाधारणलाई उचित स्थानमा सार्न स्थानीय तहका प्रमुखले आग्रह गर्नुभएको छ ।

कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुग्नुभएका मन्त्री कार्कीले प्रभावित क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।