चार वटा कृषक समूहलाई २० लाख अनुदान वितरण, ‘गुरुङलाई‘ सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मान


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित




पोखरा, १९ साउन ।

पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा शाखा द्धारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गरेका हुन् ।

अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक समूह पोखरा ३२ र बेगनास बाख्रा पालन समूह पोखरा ३१ रहेका छन् । प्रत्येक समूहलाई ५ लाखका दरले अनुदान वितरण गरिएको हो । अनुदानले १०० बढी कृषकहरू लाभान्वित हुनेछन् । सो क्रममा मौजा हिल लाईभस्टक फार्म पोखरा २० का कृषक दुर्गा बहादुर गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ घोषणा सहित सम्मान गरिएको छ । गुरुङले पोखराका विभिन्न स्थानलाई बाख्रा पालनको पकेट क्षेत्रको रूपमा विकास गर्न तथा कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गर्नुभएको छ । यस्तै पोखरा महानगरपालिका भित्र रहेका १७ वटा उत्कृष्ट कृषि फार्महरूलाई पनि सम्मान पत्रले सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्महरूमा १०० सय बढीको सङ्ख्यामा बाख्राहरू पालिएका छन् ।

उक्त अवसरमा प्रमुख आचार्यले आगामी ५ वर्ष भित्र पोखरा महानगरपालिकालाई कृषि तथा पशुजन्य उत्पादनहरू तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताउनुभयो । कृषकहरूलाई निर्वाहमुखी भन्दा पनि व्यवसायीकरणमा जोड दिँदै उहाँले महानगर कृषकहरूको साथ मै रहेको विश्वास दिलाए । कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि कोल्ड स्टोर सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको बताउँदै प्रमुख आचार्यले महानगरभरि अनुकूलता अनुसारको कृषि व्यवसाय सञ्चालन गर्न सुझाव समेत दिए । कृषि तथा पशु बिमामा सबै किसानहरूलाई सामेल हुन अनुरोध गर्दै उनले बिमालाई थप व्यवस्थित गरिने पनि बताए । ग्रामीण क्षेत्रमा बाँदरको आतङ्क रोक्नका लागि उपयुक्त निकास खोजिने उनले विश्वास दिलाए ।

कार्यक्रममा पोखरा १३ का वडा अध्यक्ष किरण बराल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, कृषि विकास महाशाखाका प्रमुख मनोहर कोरिया, बाख्रा पालन किसान समूह कास्कीका अध्यक्ष एवं वर्ष उत्कृष्ट कृषक दुर्गा बहादुर गुरुङ, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, नमुना प्राङ्गारिक कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ बराल र बाख्रा पालक किसान मिना गुरुङ लगायतले बाख्रा तथा पशुपालनको विषयमा बोलेका थिए ।
मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वाका अध्यक्ष ऋषिराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मोहोर पानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल तथा सञ्चालन बाख्रा पालक कृषक कृष्णराज बरालले गरे ।

यसअघि बाख्रा मेलामा बोका तथा बाख्राको विद्यामा उत्कृष्ट किसानहरूलाई नगद सहित सम्मान प्रदान गरिएको थियो । बाख्रा पालन तर्फ शङ्कर बराल, ऋषिराम बराल, रमा बराल र बद्री प्रसाद देवकोटा क्रमशः प्रथम, द्धितिय, तृतीय र सान्त्वना भए भने बोका पालन तर्फ ईश्वर बहादुर सिं, विष्णु बहादुर बराल, गीता बराल र कमल बराल प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुन सफल भए ।
पोखरा महानगरपालिकाका ६७ जना कृषकहरूले व्यवसायीक कृषक परिचय पत्र प्राप्त गरेका छन् । वर्णशंकर र शुद्ध गरी पोखराका कृषकहरूको फार्ममा ६७ हजार बढी बाख्राहरू पालिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।