निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ : उपाध्यक्ष नेम्वाङ


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ ।”

हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उनले उल्लेख गरे । “हामीले समयमै निर्वाचन घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ”, उनले भने ।

निर्वाचनमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उनले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताए । “आवधिक निर्वाचन घोषणा भएको छ अब जनताले फैसला गर्नेछन् । निर्वाचनमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ”, उपाध्यक्ष नेम्वाङले भने ।

पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उनले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।