आयोगले आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्दै


     एभरेस्ट आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (आइतबार) देखि दल दर्ता प्रक्रिया सुरु गर्र्दैछ।

दल दर्ताका लागि साउन ३१ सम्मको समय तोकिएको आयोगले जनाएको छ।

आयोगको शुक्रबार बसेको बैठकले दल दर्ता आह्वान गर्ने निर्णय गरेको थियो। दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ।

आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था छ।

प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्नसमेत लिन पाउने छन्। तालमेल गरेका दलले एउटै निर्वाचन चिह्नमा निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने आयोगले जनाएको हो।

यसरी, तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा २ वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिह्न लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्ने चाहिँ खुलाउनुपर्नेछ। तर, यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद मानिने छन्।

सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।