दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन: मन्त्री विश्वकर्मा


     एभरेस्ट आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा आज पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले बढ्दो प्रविधिको विकाससँगै अपराधमा प्रयोग हुने गरेका नयाँ–नयाँ प्रविधि तथा प्रयोगको चुनौतीलाई सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

अपराध अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । समाजमा शान्ति सुरक्षा कायम गराउन आपराधिक गतिविधि अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले अनुसन्धानलाई अझै प्रभावकारी बनाउने गरी लाग्नुपर्ने उल्लेख गरे ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी सङ्गठन निरन्तर दत्तचित्त भएर लागेको बताए । प्रहरीको मनोबल उच्च बनाउनका लागि सङ्गठनलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उनले यसबाट अनुसन्धानको प्रभावकारितामा पनि वृद्धि हुने बताए । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा त्यसलाई निष्पक्ष र भयरहित बनाउने वातावरण तयार गर्न उनले मातहतका निकायलाई निर्देशन दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले पछिल्लो समयमा अपराधको प्रवृत्ति बदलिएको उल्लेख गर्दै समय सापेक्ष चुनौतीका रुपमा बढिरहेका अपराधजन्य गतिविधिको अनुसन्धान तथा नियन्त्रण अहिलेको आवश्यकता भएको बताए ।

गोष्ठीको आन्तरिक सत्रमा अपराध अनुसन्धान सम्बन्धमा प्रदेशका ११ वटै जिल्लाका प्रहरी प्रमुखबाट प्रस्तुतिकरणका साथै गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रस्तुतिकरण हुने बताइएको छ । साथै गोष्ठीमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको प्रस्तुतिका साथै छलफल एवं अन्तक्र्रिया हुनेछ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।