बैतडी । बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो ।
जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् । यस्तै जिल्लाका ती स्थानीय तहमा बाढीको समेत जोखिम रहेको उल्लेख गरिएको छ । सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम रहेको बताइएको छ । त्यहाँको स्थानलाई विगतका वर्षमा पहिरो र बाढीले गरेको क्षति र विभिन्न सर्वेक्षणका आधारमा उच्च र मध्यजोखिम भनेर छुट्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
वर्षात्को समयमा विपद्का घटना हुनसक्ने भएकाले सम्भावित घटनाबाट जोगिनका लागि आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ । पहिरोका कारण विगतमा जनधनको क्षति भएकामा अहिले पनि पहिरोको जोखिम बढिरहेकोले सतर्क हुन आग्रह गरिएको छ । गत वर्षमात्रै जिल्लामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र करोडौँको सम्पति र कृषिबालीमा क्षति पुगेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







