प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेल र बाँस्तोलालाई


     एभरेस्ट आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बाँस्तोलालाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिसबमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७९ का लागि रवीन्द्र बाँस्तोलालाई प्रदान गर्न लागिएको हो ।

गङ्गाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पङ्गेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य रहेका थिए ।

युनियनले रु १२ लाखको अक्षयकोष स्थापना गरेर विसं २०७२ देखि हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कार युनियनको सदस्य रहेको र १५ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिनेलाई प्रदान गर्ने गरिन्छ । पुरस्कार राशि जनही रु ३३ हजार तीन सय ३३ र सम्मानपत्र रहेको छ । कोरोना महामारीका कारण रोकिएको विसं २०७७ सहित यसपालि संयुक्तरूपमा वितरण गरिन लागेको नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिए ।

प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष रहेका रमेश पौडेल हाल रेडियो बाराहीमा कार्यकारी निर्देशक हुन् । उनी गोरखापत्र राष्ट्रिय दैनिक गण्डकी प्रदेश ब्यूरो प्रमुख एवं नेपाल टेलिभिजनका पोखरा समाचारदाता भई पत्रकारितामा क्रियाशील छन् ।

त्यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य रहेका रवीन्द्र बाँस्तोला पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष हुन । उनी हाल हिमदूत दैनिकका सम्पादक एवं रेडियो तरङ्गका अध्यक्ष हुन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।