भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो महिला कमनवेल्थको स्वर्णपदक


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित




महिला क्रिकेटमा आफ्नो दबदबा कायम राख्ने क्रममा अष्ट्रेलियाले आइतबार राति कमनवेल्थ गेम्समा भारतलाई नौ रनले हराउँदै स्वर्णपदक जितेको छ ।

महिला एसेस शृंखला जित्नुका साथै एकदिवसीय र ट्वान्टी–२० दुवै स्वरूपको विश्वकपमा उपाधि जित्न सफल अष्ट्रेलियाले कमनवेल्थमा पनि स्वर्णपदक हासिल गरेको हो ।

वेथ मुनीले ६१ रन बनाएपछि बर्मिङघमस्थित एडबास्टन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको भारतले १९.३ ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि मुनीले ४१ बलमा आठ चौका समेत प्रहार गरिन् । मुनीबाहेक कप्तान मेघ लनिङले ३६, एश्ले गार्डनरले २५ र रचल हायनेसले अविजित १८ रन बनाए ।

भारतकी रेनुका सिंह र स्नेहा रानाले समान दुई/दुई विकेट लिए । दिप्ती शर्मा र राघा यादवले एक÷एक विकेट लिए ।

भारतकी कप्तान हर्मनप्रीत कौरले ६५ रन बनाए पनि टिमलाई जिताउन सकिनन् । जेमिमा रोड्रिगुएसले ३३, दिप्ती शर्माले १३ र ओपनर शफाली बर्माले ११ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाकी एश्ले गार्डनरले तीन विकेट लिइन् । मेगन स्कटले दुई विकेट लिइन् । डार्सी ब्रोन र जेस ब्रोनले एक/एक विकेट लिए ।

कमनवेल्थ गेम्समा पहिलोपटक महिला क्रिकेट समावेश गरिएको हो । न्युजिल्यान्डले आयोजक इंग्ल्यान्डलाई आठ विकेटले हराउँदै कास्यपदक जित्यो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।