गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानी गाउँका ७९ वर्षीय बलबहादुर छन्त्यालको दिन हिजो आज गाउँमा उक्लिएका जीप, ट्याक्टर र मोटरसाइकल गन्ती गर्दै र चोयाँका सामग्री बुन्दै बित्ने गर्छ । जीवनको उत्तरार्धमा आएर बल्ल अलिअलि सुखको महसुस गर्न पाएका उनको बाल्यकाल, युवावस्था र प्रौढावस्था अनेकौँ दुःख संघर्ष गर्दै बित्यो । अहिले छोरा नातिको मुहारमा खुसी देख्दा आफू पनि खुसी हुनाको अर्को कुनै विकल्प उनीसँग छैन ।
पिडौला फर्किने गरी उकालीओराली गर्दै जवानी बित्यो । भौतिक सुख र प्रविधिको उपयोग उनका लागि सपना बन्यो तर आजभोलि छन्त्याल असाध्यै खुसी हुनुहुन्छ । उनी यसरी खुसी हुनुको कारण हो घर घेउमै दैनिकजसो गुड्ने दर्जनाँै मोटर गाडीहरु । मुलुक सङ्घीय संरचनामा गएपछि पछिल्लो समय ग्रामीण बस्तीमा पनि विकासले गति लियो । विकासले गर्दा सुविधा पाउन र देख्न थालेपछि उमेरले डाँडो काटेका अन्य ज्येष्ठ नागरिकको मुहारमा पनि खुसी छचल्किएको छ ।
आफूहरुले बटौलीबाट डोकोमा नुन बोकेर १५ दिनपछि पैदल गाउँमा फर्किदाको दुःख सुनाउँदै छन्त्याल छोरा नातीका दुःखका दिन विस्तारै हट्दै गएकामा खुसी व्यक्त गर्छन । गाउँगाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्ष अगाडिसम्म बुटवल, सुनवललगायत सहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उनको भनाइ छ । बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले अहिलेको पुस्ता भाग्यमानी भएको बताउछन ।त्यसैगरी मङ्गला गाउँपालिका–४ का ७६ वर्षीय कृष्णहरि कँडेलले पनि आफ्नो जीवनकालमा गाउँमा मोटरगाडी गुड्लान् भन्ने कल्पना नगरेकामा अहिले गाउँमा गाडी गुड्दा खुसी लागेको छ भने ।
गाउँमा मोटरबाटो पुगेपछि बलबहादुर, बेदप्रसाद र कृष्णहरिजस्ता सयौँ बुढापाका र स्थानीय बासिन्दा खुसी भएका छन् । सडकले उनीहरूले भोगेका पुराना दुःख भुलाएको छ । जीवनको करिब ५०औँ वर्षभन्दा बढी टाढाबाट दैनिक उपभोग्य सामान ल्याएर दैनिक गुजारा चलाएका रघुगङ्गा गाउँपालिकाको दग्नामकी ७३ वर्षीया स्वरुपा गर्बुजा अहिले घर नजिकैबाट आवश्यक सामान किन्न पाउँदा दङ्ग छन । मुस्ताङको थाकखोलाबाट नुन ल्याएर उपभोग गरे.की स्वरुपाले अहिले नुन मात्रै होइन दैनिक जीविकाका लागि चाहिने सामान घरै नजिक किन्न पाउछन ।
मोटरगाडी ठूला–ठूला सहरमा पुगेपछि मात्रै देखेको अनुभव सुनाउँदै अहिले गाउँका हरेक बस्तीमा गाडी पुगेको उनी बताउछन । गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पु¥याउने गर्दै आएका थियौँ । अहिले सडक सुविधाले गर्दा गाडीमार्फत बिरामीलाई अस्पताल लैजान पाइन्छ । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय सडक निर्माणले तीब्रता पाएको छ । एक नगरपालिकासहित छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य ४४ वडामा सडक सुविधा पुगेको छ ।
सडक डिभिजन कार्यालयका अनुसार म्याग्दीमा ११ मुख्य सडक र ४२ वडा सहायक तथा कृषि सडक छन् । वडा र पालिकाले स्थानीयवासीको आवश्यकताअनुसार निर्माण गरिएका सडकको सङ्ख्या भने समेटिएको छैन । सडकको पहुँचसंगै स्थानीय उत्पादनले बजारीकरणको अवसर पनि पाएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजा बताउछन । स्थानीयवासीलाई आवतजावत गर्न मात्रै होइन गाउँको समृद्धि र स्वास्थ्योपचारका दृष्टिले पनि सडक सुविधा वरदान सावित भएको उनको भनाइ छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







