छैन फोहरमैला व्यवस्थापनमा कानुनी अड्चन


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित





काठमाडौँ । त्यसो त फोहरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ । तीन तहका सरकारका अधिकार र कार्र्यक्षेत्रबारे संविधानको अनुसूचीमा स्पष्ट व्यवस्था पनि गरिएको छ । सर्वोच्च अदालतले विसं २०७८ चैत १० गते महानगर र उपमहानगरपालिकाको अनुभवबाट देखिएका अन्य अवस्थामा पनि केही सुझाव समावेश गरी विस्तृतरुपमा प्रतिवेदन पाँच महिनाभित्र बुझाउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।

पाँच महिना पूरा हुन १९ दिन मात्र बाँकी छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रतिवेदन तयारीबारे के भइरहेको छ भन्ने प्रश्नमा अनविज्ञता प्रकट गरे । अहिले फोहरमैला व्यवस्थापन गर्न खासगरी मुख्य सहर र त्यसमा पनि बढी चुनौती काठमाडौँ उपत्यकामा देखिएको छ । कानुन र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने निकायको फोहरमैला व्यवस्थापनमा त्यति ध्यान र चासो नदिएको देखिएको छ ।

सर्वोच्च अदालतको दशबुँदे प्रश्नमा अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयन गराउन सहयोग हुन सक्यो सकेन रु उक्त अन्तरिम आदेश कार्यान्वयनको सन्दर्भमा कुनै नीतिगत निर्णय र व्यवस्था बने कि बनेन रु काठमाडौँ र ललितपुरमा नियमित रुपमा फोहरमैला व्यवस्थापन गर्न के के कठिनाइ र बाधा हुने गर्दछन भन्ने रहेको छ । त्यस्तै, ती कठिनाइ र बाधा हटाउन के के उपाय गर्नुपर्दछ । नियमित रुपमा फोहरमैला व्यवस्थापन हुन र त्यसको निराकरण किन हुन सक्दैन रु फोहर फाल्ने स्थान निर्धारण गर्नमा के के समस्या छन् रु तिनको दीर्घकालीन समाधानका लागि के के उपाय गर्नुपर्छ भन्ने रहेको छ ।

वातावरणको क्षेत्रमा क्रियाशील अधिवक्ता पदमबहादुर श्रेष्ठको कानुन कार्यान्वयन गर्ने निकाय गम्भीर नभएको अनुभव छ । फोहरमैला व्यवस्थापन गर्न सरकारी निकायको चासो र चिन्ता नै नभएको उनले पाएका छन । उनका अनुसार संविधान र कानुनको आधारमा नै अदालतले आदेश दिने भएकाले त्यो मान्नै पर्ने बाध्यकारी हुन्छ ।कर्मचारी परिवर्तन भइरहने र फोहरमैला व्यवस्थापनमा सम्बन्धित निकाय जिम्मेवार नभएको उनको अनुभव छ ।

वातावरण विज्ञ प्रकाश अमात्यको काठमाडौँ महानगरपालिकामा फोहरमैला व्यवस्थापन गर्न नीतिगत, भौतिक र पूर्वाधार तीन पक्षमा सुधार गर्नुपर्ने सुझाव छ । फोहरमैला व्यवस्थापन ऐन, २०६८ मा नै कुहिने र नकुहिने छुट्याउने व्यस्था छ । यो कानुनमा व्यवस्था भएअनुसार लागू भएमा फोहर व्यवस्थापनमा सहज हुने थियो । तर त्यसको प्रभावकारी कार्यान्वयन नभएर समस्या देखिएको छ । कानुनको कार्यान्वयन नहुँदा कानुनअनुसार गर्न पटक–पटक अदालतबाट आदेश भएको छ ।

दैनिक रुपमा निस्कने फोहरमैला समयमा नै उचित किसिमले व्यवस्थापन हुन नसकेमा वातावरण दुर्गन्धित भई आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । महानगर वा नगरभित्रबाट उत्सर्जन भएका फोहरमैलाको नियमित रुपमा समुचित व्यवस्थापन हुन नसकीरहेकोमा आमनागरिकमा चिन्ता बढ्दै गएको छ ।

नागरिकबाट पनि जैविक र अजैविक कुहिने र नकुहिने फोहर छुट्याएर राख्न लगाउने व्यवस्था गरी त्यसरी छुट्याइएको जैविक र अजैविक फोहर अलग–अलग दिन वा समयमा सङ्कलन गरी त्यसलाई प्रदूषित नहुने गरी सुरक्षित तरिकाले फोहर मैला विसर्जन गर्ने स्थानसम्म पु¥याउन जरुरी देखिएको छ ।

कानुनमा फोहरमैला सङ्कलन गरी लैजाने कार्य रोकिने र अवरोध हुने गरी हड्ताल गर्न नपाउने, फोहरमैला विसर्जन गर्ने स्थान, स्थानीय सरोकार आमजनताको सहमतिले निर्धारण गरी स्थान निर्धारण भएपछि त्यहाँ फोहरमैलाको विसर्जन गर्ने कार्यमा कसैले पनि कुनै प्रकारको बाधा अवरोध समेत गर्न नपाउने व्यवस्था छ । कानुनमा कुहिने र नकुहिने फोहर नछुट्याउनेलाई रु पाँच सय सजायस्वरुप जरिवाना गर्ने व्यवस्था छ तर त्यो कार्यान्वयनमा आएको देखिँदैन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।