पोखरामा पनि आदिवासी दिवस मनाइँदै

- भक्तपुरको सापारु (गाईजात्रा) घिन्ता घिसी ट्वाक प्रदर्शन गरिदैं


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशको राजधानी पोखरामा पनि आज (मंगलबार) २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाइँदै छ ।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह–आयोजनामा उक्त दिवस भव्यताका साथ पोखरामा मनाइँदैछ ।

यसअघि, पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिइसकेको छ ।

आज ११ बजे पोखराको चिप्लेढुंगाबाट सवै जनजातिले आ–आफ्नो जातीय मौलिक पोषाक र झाँकीसहित बिशाल ¥याली निकालेर पोखरा रंगशाला अगाडी रहेको नेपाल मगर संघको भवनमा औपचारिक कार्यक्रम गर्ने नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङले जनाएका छन् ।

कार्यक्रममा २ जना अग्रजहरुलाई सम्मान गरिनुका साथै बिभिन्न जातजातिको प्राचीन मौलिक साँस्कृतिक कार्यक्रमहरु गरिदैंछ । विगतका वर्षहरुमा पोखरामा भव्यताका साथमा मनाइएको यो दिवस पछिल्लो २ वर्षमा कोरोनाका कारण सामान्य अन्तकृया गरेर मात्रै मनाइएको थियो ।

यस वर्षको आदिवासी अन्तर्राष्ट्रिय दिवसका लागि ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ नारा सहित संयुक्त राष्ट्र संघबाट सन २०२२ देखि २३ सम्म आदिवासी भाष दशक घोषणा समेत गरिएको छ ।

संयुक्त राष्ट्र संघको आदिवासी जनजाती हेर्ने कार्यदलको सन १९८२ डिसेम्वरमा स्वीट्जरल्याण्डमा बसेको पहिलो बैठकबाट हरेक ९ अगष्ट लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय भएको थियो ।

‘घिन्ता घिसी ट्वाक’ नचाइँदै

भक्तपुरमा सापारु (गाईजात्रा)को समय नाचिने बिशेष नृत्य घिन्ता घिसी पोखरामा पनि प्रदर्शन गरिदैछ ।
विश्व आदिवासी दिवसको अवसरमा आज (मंगलबार) पोखरामा रहेको नेवाःहरुको सहभागितामा घिन्ता घिसी नृत्य समाबेस गरिदैछ ।

पोखरामा रहेको नेवाःहरुको सांस्कृतिक उत्थानका लागि सकृय संस्था नेवाः देय दबू कास्की जिल्ला समिति तथा पोखरा महानगर समितिको आयोजनामा घिन्ता घिसीको नृत्य प्रदर्शन गर्न लागिएको हो।

नेपाल भाषा साहित्य तःमुज्या, येँ, यल व ख्वपको सहयोगमा नेवाः सांस्कृतिक आदान–प्रदान कार्यक्रम अन्तर्गत घिन्ता घिसी नृत्य पोखरामा प्रदर्शन गर्न लागिएको आयोजक देय दबूले बताएको छ ।

यस प्रकारको सांस्कृतिक आदान–प्रदान कार्यक्रमले भविष्यमा अझ बढी संस्कृतिप्रति जनचासो र टेवा पुग्ने बिश्वास लिइएको छ । नेवाः देय् दबू, कास्कीले आगामी दिनहरुमा पनि यस किसिमको नेवाः सांस्कृतिक आदान प्रदान कार्यक्रम पोखरामा गरिरहने जनाएको छ ।

गुजरातमा नाचिने गरबा नृत्यमा लट्ठीलाई तालको साथमा आपसमा जुधाउने गरिन्छ । गुजरातमा डांडी वा गरबा भनिने नृत्य वास्तवमा कृष्णका लागि गोपीनीहरुले नाचिने रासलीलाको नृत्य हो । भक्तपुरमा देखिने घिन्ता घिसी यसैबाट प्रभावित नृत्य भन्न सकिन्छ । यसमा नेपाली वा नेवारी कुनैपनि नाम रहन सकेको छैन । तसर्थ बाजाको तालका आधारमा यस नृत्यलाई ‘घिन्ता घिसी ट्वाक’ भन्ने गरिन्छ । घिन्ता घिसीको ताल बजाइन्छ र दुई लठ्ठीलाई जुधाएर ट्वाक्क आवाज निकालिन्छ । यसर्थ पनि यस नृत्यको नाम नै घिन्ता घिसी ट्वाक रहन गएको हो ।

आगामी मंगलवार बिहान ९ बजे बिन्ध्यवासिनी मन्दिर पार्कबाट सुरु भइ मोहरिया टोल, भैरवटोल, भीमसेन टोल हुदै नालामुख चोकबाट तेर्सापट्टी, महेन्द्रपुल हुदै चिप्लेढुंगा बिपीचोकमा बिश्राम हुनेछ । त्यसपछि पुनः बिहान ११ बजे विश्व आदिवासी जनजाति दिवसको ¥यालीका साथ बिपी चोकबाट सभागृहचोक पृथ्वीचोक हुदै रंगशाला अगाडि रहेको मगर समाज भवनमा समापन हुनेछ । घिन्ता घिसी नृत्य अवलोकन गर्न चाहनेहरुलाई यस रुटमा आएर उक्त नृत्यको अवलोकन गरेर हौसला प्रदान गरिदिन आयोजक देय दबूले कास्कीले आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।