चिन्ते सामुदायिक वन धार्मिक पर्यटन क्षेत्र


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित





रामपुर । चिन्ते सामुदायिक वन रामपुर नगरपालिका– १ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूिर्त भित्र्याइएको छ ।पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गरेको यस वनलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले भगवान् शिवको मूर्ति भित्र्याइएको हो । शिवलिङ्ग, शङ्ख, पर्वत तथा भगवान्का आकृति रहेको गुफाभित्र मूर्ति भित्र्याई प्राणप्रतिष्ठा गरिएको छ । चिन्ते सामुदायिक वनका पूर्व अध्यक्ष सीताकुमारी सिंह र सदस्य विष्णुदेवी सिग्देलले मूर्ति सहयोग गरेका हुन । पर्यापर्यटनको लागि सौन्दर्यीकरणसँगै यहाँको छाङ्दी झरना अहिले आन्तरिक पर्यटकको रोजाइँमा परेको छ ।

झरनासँगै रहेको चमेरे गुफालाई धार्मिकस्थलको रुपमा विकास गर्नको लागि पहल सुरु भएको छ । कालीगण्डकी नदी नजिकै रहेको गुफाको आफ्नै महिमा भएको भन्दै यसलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गरिन थालिएको हो । झरना अवलोकनको लागि आएका एक जना मातामा देवी चढेपछि गुफामा भगवान् शिवको बास रहेकाले शिवको मूर्ती राखिएको स्थानीय बताउँछन् । यहाँको झरनामा पछिल्लो समय रमाउन जानेको घुइचो छ ।

विभिन्न ठाउँबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पाइन्छ । डिभिजन वन कार्यालय पाल्पाले झरनाको सौन्दर्यकरणको लागि पौडी पोखरी, बाटो, आकर्षक काठको रेलिङ्गसहित, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरेपछि वनले पर्यटक लोभ्याइरहेको छ । यहाँ दैनिकजसो करिव तीन सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । कालीगण्डकी सडक सञ्जालसँग जोडिएकाले पनि पर्यटकलाई आवतजावतमा सहज भएको छ । करिव एक सय ५० मिटर माथिबाट झरेको झरनाको पानीमा हिजोआज आन्तरिक पर्यटकहरु पौडी खेल्ने र रमाउनेको दृश्य देख्न सकिन्छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।