दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।
दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौँ बिरुवा स्याउ लगाइएकोमा त्यसबाट राम्रो फल लागेको छ । तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान मर्कामा परेका छन् । स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख विष्णुप्रसाद ओझाका अनुसार हरेक वर्ष स्याउ उत्पादन क्षेत्र बढ्दै गएको छ ।
किसानले उत्पादन बढाउँदै लगेका छन् । किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउन भने सकिरहेका छैनन् । दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ । तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको ओझाको भनाइ छ । जिल्लामा वार्षिक एक हजारभन्दा बढी टन स्याउ उत्पादन हुने गरेको छ ।
जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा नौ सय १० मेट्रिक टन र ०७७÷७८ मा एक हजार दुई सय १५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख ओझाले बताए । २०७६÷७७ मा स्याउको बोटमा किरा लाग्नु र मौसममा आएको परिवर्तनका कारण स्याउ उत्पादन घटेको उनको भनाइ छ ।
जिल्लामा गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार पाँच सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो । यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







