वीरेन्द्रनगरले बनायो शिक्षाको दसवर्षे योजना


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित





कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना तयार गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका लागि सार्वजनिक गरेको हो ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख धिरेन्द्रप्रसाद शर्माले नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयकै खाकामा रहेर विभिन्न १५ वटा विषयमा चार महिना लामो छलफलपछि रणनीतिक योजना मस्यौदा तयार पारिएको जानकारी दिए ।

उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्य रहेको बताए । नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्न १० वर्षे रणनीतिक योजना निर्माण गरिएको बताए ।

चालु आर्थिक वर्षदेखि ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’ अभियान सञ्चालन हुने प्रमुख ढकालको भनाइ छ । उनले वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले यहाँको शैक्षिक विकास नमूना हुनुपर्ने र रणनीतिक योजनाले त्यसको स्पष्ट मार्गचित्र बनाएको बताए ।

वीरेन्द्रनगरमा प्रारम्भिक बाल विकाससहित एक सय ५६ सामुदायिक र एक सय ७६ संस्थागत विद्यालय छन् । रणनीतिक योजनामा आव २०८८÷८९ सम्म प्रारम्भिक बाल विकास तथा आधारभूत तहमा विद्यार्थी भर्नादर शत्प्रतिशत पु¥याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ८५ प्रतिशत पु¥याउने, विद्यालयभन्दाबाहिर रहेका विद्यार्थीको सङ्ख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने लक्ष्य राखिएको छ ।

नगरपालिकाले हाल कूल बजेटको १० प्रतिशत रहेको शिक्षा क्षेत्रको बजेट आगामी १० वर्षसम्म दोब्बर पु¥याई विद्यालय शिक्षामा लगानी बढाउने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने लक्ष्य लिएको छ ।

रणनीतिक योजनामा प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको सहभागिता वृद्धि, सबै विद्यालयमा विद्युतीय पहुँच विस्तार एवं इन्टरनेट सेवा पु¥याउने उल्लेख गरिएको छ ।

नगरपालिकामा आवश्यकता अनुसारको पाठ्य सामग्री र पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई जोड दिइएको छ ।

मस्यौदामा नगरपालिकाले निःशुल्क माध्यमिक शिक्षामा सहज पहुँच र समावेशी सहभागिता सुनिश्चित गर्न सङ्घीय र कर्णाली प्रदेश सरकारसँगको समन्वयमा विद्यालयहरुको क्षमता सुधार गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई समेट्न विशेष सहुलियत दिने, अपाङ्गता भएका बालबालिकाहरुलाई आवश्यकताका आधारमा विशेष शिक्षा र समावेशी शिक्षाका माध्यमबाट उपर्युक्त शैक्षिक अवसर उपलब्ध गराउने उल्लेख छ ।

विद्यालयमै आधारभूत स्वास्थ्य सेवा, दिवा खाजा तथा पोषण कार्यक्रम सञ्चालन गर्ने योजनामा समावेश गरिएको छ । नगरपालिकाले नगर शिक्षा ऐन २०७४, आधारभूत तथा माध्यमिक शिक्षा नीति २०७७, स्थानीय पाठ्यक्रम हामी र हाम्रो वीरेन्द्रनगर निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।