सुदूरपश्चिममा पैँतीस हजार मतदाता थपिए


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्विर


महेन्द्रनगर । स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३५ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तह निर्वाचन २०७९ सालको निवार्चनमा यहाँका नौवटै जिल्लामा गरी १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लाबाट सङ्कलन भएर आएका नामावली रुजु गरेपछि निर्वाचन आयोगमा पठाउने जानकारी दिए ।उनका अनुसार नयाँ थपिनेमा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय३० मतदाता थपिएका छन् । त्यसैगरी कञ्चनपुरमा नौ हजार आठ सय २८, अछाममा चार हजार ८० मतदाता थपिएका छन् ।

यस्तै यहाँको पहाडी जिल्ला बाजुरामा एक हजार तीन सय ६४, दार्चुलामा एक हजार ६ सय ६४, बैतडीमा दुई हजार आठ सय ६, डडेल्धुरामा दुई हजार दुई सय ५८, बझाङमा एक हजार ६ सय ५९ र डोटीमा दुई हजार एक सय ७२ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यस पटक अन्तिम नामावलीमा समावेश भएकाहरुले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाका मतदान गर्न पाउनेछन् । २७ लाखभन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा ८८ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।