सांकेतिक तस्विर
वालिङ । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् ।
साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए । जिल्लाका ११ स्थानीय तह अन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी तीन स्थानमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको उनले बताए ।
स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङमा नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो ।
नयाँ थपिएको सङ्ख्या जिल्लाभित्रका तीन वटा कार्यालयमा आई फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने मात्रै रहेको कार्यालयले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जामा दुई लाख ४० हजार पाँच सय ३५ मतदाता थिए । अब जिल्लामा नयाँ थपिएकासहित दुई लाख ४६ हजार नौ सय ३५ मतदाता पुगेका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







