तस्बिर : उमेश पुन
गलकोट । बागलुङ बजारस्थित आवारोडमा रहेको नेपाल टेलिकममा लथालिङ्ग जग्गा छ । पार्किङको सुविधा पर्याप्त भए पनि कार्यालय समयमा पार्किङ ढोका खुल्दैन । कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिँदै आएको टेलिकम कार्यालयले सेवाग्राहीलाई भने पार्किङ सुविधा दिँदैन ।
नेपाल टेलिकममा गएका सेवाग्राहीले बाहिर सडकमै मोटरसाइकल तथा कार पार्किङ गरेर सेवा लिँदा ट्राफिक व्यवस्थापनमा भने समस्या हुने गरेको छ । नेपाल टेलिकम मात्रै होइन जिल्ला प्रशासन कार्यालयलेसमेत सेवाग्राहीलाई पार्किङ सुविधा दिँदैन ।
जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ । प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन् ।
यी दुई सरकारी कार्यालय त उदारण मात्रै हुन् । पर्याप्त जग्गा भएरसमेत सेवाग्राहीलाई पार्किङ सेवा नदिने कार्यालयमा जिल्ला मालपोत कार्यालय, विद्युत् कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, नापी कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलस्रोत तथा सिञ्चाइ डिभिजन कार्यालयको पार्किङ ढोका समयमै खुल्दैनन् ।
विद्युत् कार्यालयको भित्र पार्किङस्थलमा त झनै ब्याडमिन्टन खेलका लागि प्रयोग हँुदै आएको छ । सेवाग्राहीलाई पार्किङका लागि स्वास्थ्य कार्यालय र आन्तरिक राजस्व लगायतका केही थोरै कार्यालयले मात्रै पार्किङ सुविधा दिँदै आएका छन् ।
साँघुरो बागलुङ बजारमा पार्किङ व्यवस्थापन जटिल बन्दै गएपछि बागलुङ नगरपालिकाले पार्किङ सुविधा भएका कार्यालयलाई पार्किङ सेवा दिन आग्रह गरेको भए पनि सरकारी कार्यालयले अटेरी गरिरहेका छन् ।
नगरपालिकाले सुरुआती चरणमा भएका सरकारी कार्यालयले पार्किङ सुविधा दिने र अन्य बैंकलेसमेत विस्तारै पार्किङको व्यवस्थापन गर्न बागलुङ नगरपालिकाले दुई महिनाअघि अनुरोध गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।
तर नगरपालिकाले गरेको आग्रहलाई सरकारी कार्यालयले अटेरी गरेका छन् ।भएको जग्गामा पार्किङ सुविधा नदिएको विषयमा विद्युत् कार्यालयका निमित्त प्रमुख प्रकाश काफ्लेले कार्यालयमा जग्गा अभाव भएको बताए । उनले कार्यालयमा भएको जग्गामा विद्युतीय सामाग्री राख्न समस्या हुने बताउँदै विद्युत् कार्यालयमा कार्यालयका अत्यावश्यक सवारी आउजाउ गर्दा समस्या भएकाले पार्किङ सेवा नदिएको बताए ।
तर कार्यालयमा ब्याडमिन्टन कोटसमेत बनाइएको छ । बागलुङ नगरपालिकाले सरकारी कार्यालय, ठूला होटल तथा उद्योगले सकेसम्म पार्किङ सेवा दिनेगरी नीति बनाउन थालेको छ । खासगरी सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन, नेपाल टेलिकम, मालपोत कार्यालय, नापी कार्यालयले भएको पार्किङ सुविधासमेत सेवाग्राहीलाई नदिँदा बागलुङ बजारमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।
अहिले एकातर्फी पार्किङले बागलुङ बजारको ट्राफिक जाम केही हदसम्म नियन्त्रणमा आए पनि दीर्घकालीन व्यवस्थापन भने हुन सकेको छैन । जिल्ला ट्राफिक कार्यालय बागलुङले पार्किङ सेवा दिन सक्ने कार्यालय, बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरिरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए । केसीले सबैको समन्वयमा मात्रै सहज ट्राफिक व्यवस्थापन हुने बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







