पुस्तान्तरण नहुँदा संस्कृति धान्नै धौधौ


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित





बागलुङ । रीतिअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेमङ्गलदेखि नै लाखे नचाउनुपथ्र्यो । पहिले–पहिले गठेमङ्गलमा सुरु भएको लाखे नाचलाई तीजमा अन्त गर्ने प्रचलन थियो । यसपालि भने लाखेको कुनै सुरसार छैन ।अन्यत्र लाखे नाचको रौनक सुरु भइसक्दा पनि यहाँको नेवार समुदाय भने अन्योलमा छ ।

शाक्य कल्याण समाजका सचिव मञ्जुल शाक्यले पछिल्लो समय लाखे नाच्ने कलाकारै नभएको बताए । उक्त समाजको अगुवाइमा बर्सेनि लाखेनाच प्रदर्शन हुँदै आएको थियो । सचिव शाक्यले पछिल्ला दुई वर्ष कोभिड–१९ ले पनि लाखेलगायत बर्खे नाच निकाल्न नसकिएको उल्लेख गरे ।

उनका अनुसार नयाँ पुस्तामा लाखे नाच्ने मान्छे नै छैनन् । नेवार समुदायमा हुने बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउन चुनौती थपिएको उनले जानकारी दिए ।

अध्यक्ष राजभण्डारीले अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति सङ्कटोन्मुख रहेको बताए । उनले विसं २०४६ पछिको परिवर्तन र आधुनिक विकासले पनि परम्परामा मार थपिएको धारणा व्यक्त गरे ।

लाखे मात्र नभएर बर्खे नाचका रुपमा देखाइने होबा, कटुवाल, रोपाइँ, जोगीलगायत नाच पनि जोगाउनै धौधौको स्थिति छ । इतिहास बोकेका नाच र जात्रा हराएर जाने हुन् कि चिन्ता छ ।

परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खलः र समाजले अगुवाइ गरिरहेको छ । संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा तीन सय वर्ष पुरानो लाखे नाचको अस्तित्व नै नासिने खतरा बढेको बताए ।

संरक्षण नहुँदा नागनागिनीसहित कतिपय नाच र जात्रा हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उनको सुझाव थियो । संस्कृतिकर्मी शाक्यका अनुसार लाखे नाचमा ढोलक, झ्याली, बाँसुरीलगायत बाजा बजाउने कलाकार पनि औँलामा गन्न सकिने मात्र छन् ।

राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा व्युहल बनेकी उनकी श्रीमतीले लाखे बनेर नाचेको किंवदन्ती छ । त्यसकै प्रतीकस्वरुप नेवार समुदायमा बर्सेनि लाखे नाच निकालिन्छ ।

नेवारको जात र स्थानअनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । लाखे नाचको प्रचलन र यसको इतिबासबारे पनि विभिन्न तर्कहरु पाइन्छन् । लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् ।

राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । भक्तपुरबाट बसाइँसराइ गरेर यहाँ आउँदा नेवारहरुले परम्परागत नाच र जात्राको संस्कृति पनि सँगसँगै भित्र्याएका थिए ।

भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदौरे जात्राको प्रचलन बसालेका थिए । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।