मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित





विराटनगर । मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म १७ वटा पालिकामध्ये आठवटामा सो विवरण सङ्कलनको काम पूरा भएको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हालै आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो । नेपालमा सबैभन्दा पहिले प्रदेश नं १ को पाँचथर जिल्लाबाट सुरु भएको यो अभियान मोरङमा गएको असोजदेखि सुरु भएको थियो ।

यस प्रदेशमा अहिले १३ जिल्लामा अभियान सञ्चालन रहेको बताइएको छ । सन् २०२४ सम्ममा सम्पन्न हुुनुुपर्ने यो अभियानका लागि देशभार सात हजार कर्मचारी परिचालन भएको र रुजु गर्ने अधिकारीहरू पनि परिचालन भएका जानकारी पनि उनले दिए ।

प्रदेशमा सोलुखुम्बु जिल्लामात्र अभियान सञ्चालन गर्न बाँकी रहेको र गलत विवरण दिने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको पनि बताइएको छ ।

यो परिचयपत्रका लागि देशभरिमा हालसम्म ३३ जिल्लामा सम्पन्न भई ७५ लाख मानिसको विवरण सङ्कलन भइसकेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र बनाउन नागरिक स्वयं सक्रिय हुनुपर्ने बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।