विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर


गोदावरी । कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

कैलारी गाउपालिका–७ विपतपुर बस्तीमा गत वैशाख ११ गते भिषण आगलागी हुँदा सो बस्तीका २७ घर जलेपछि घाम र पानीको प्रबाह नगरी उनीहरु दिनरात दिन विताउन बाध्य भएका हुन । सो बस्तीमा रहेका ७१ घरपरिवारमध्ये २७ घर पूर्णरुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति भएको थियो ।

सो मुक्तकमैया बस्तीका ३६ वर्षीषा देवी चौधरीले नेपाल रेडक्रस सोसाइटीले दिएको पालमुनि दिनरात बिताउँदै आएको दुखेसो गरे । आगलागीले घरबारविहीन बनाएपछि खानलाउन पनि त्यत्तिकै समस्या भइरहेको आगलागी पीडितको गुनासो छ ।

वर्षायाममा गाउँमा ज्यालामजदुरी नपाउँदा कामका लागि अन्यत्र भौतारिनु परेको उनीहरुकको गुनासो छ । सरकारले २०६४ सालमा ७१ मुक्तकमैया परिवारलाई पाँच कठ्ठाका दरले जग्गा वितरण गरेर विपतपुरमा बसोबास गराएको थियो ।

कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दीपेन्द्र बमले आगलागीपीडित परिवारलाई घरनिर्माण गर्न काठको व्यवस्था गर्न समस्या भइरहेको बताए । आगलागी पीडितलाई प्रदेश सरकारले रु ५० हजार राहत वितरण गर्नुका साथै वर्षायामअघि नै घर निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म आश्वासन पूरा हुन सकेको छैन ।

विपतपुरका मुक्तकमैयाले नयाँ लालपुर्जाका लागि भूमिसुधार र मालपोत कार्यालयमा आग्रह गरेका छन् । उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरि नयाँ लालपुर्जा दिन आग्रह गरेका छन् ।

सो बस्तीका दाउराम चौधरीले ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्रअनुसारको ब्लुप्रिन्ट, फाइल नक्सा उपलब्ध गराउनुपर्ने, पुन।स्थापना प्रक्रियाका क्रममा १३ घरधुरी मुक्तकमैयालाई परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै आएको बताए ।

मालपोत कार्यालयका नायबसुब्बा लक्ष्मण जोशीले १३ घरधुरीलाई कागजमा लेखेको चुट्काका विषयमा भूमि आयोगले हेर्ने र ५२ घरधुरीलाई दिएको लालपुर्जाका विषयमा भने फेरि लालपुर्जा दिन सकिने जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।