अन्तरपालिका बैठक


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित




बैतडी । सिकाइ आदानप्रदानका लागि बैतडीमा पहिलोपटक अन्तरपालिका समन्वय बैठकको सुरुआत गरिएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अन्तरपालिका समन्वय बैठकको सुरु गरेका हुन ।

पालिकाको एकआपसमा अनुभव साटासाट र सिकाइ आदानप्रदान गराउने उद्देश्यले अन्तरपालिका समन्वयात्मक बैठकको सुरुआत गरिएको प्रजिअ पन्थीले जानकारी दिए ।

जिल्ला प्रशासनको संयोजनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बैठकको सुरुआत गरिएको हो । घुम्ती अन्तरपालिका बैठक सञ्चालन हुने र पहिलो बैठक दशरथचन्द नगरपालिकामा सम्पन्न भएको छ ।

सुशासन, विकास र सेवा प्रवाहका विषयमा पालिकाबीच साझेदारी गर्ने र असल अभ्यास आदानप्रदान गर्ने बैठकमा आयोजना गरिएको प्रजिअ पन्थीको भनाइ छ । तीनवटै तहका सरकारले एकअर्कासँग मिलेर काम गर्ने भनेर कानुन बनेको भए पनि स्थानीय सरकारबीच पनि साझेदारी आवश्यक रहेको प्रजिअ पन्थीको भनाइ छ ।

पहिलो पटक अन्तरपालिका समन्वयात्मक बैठक गरिएको र समन्वय बैठक सिकाइ आदानप्रदानका लागि महत्वपूर्ण बन्ने पुर्चौंडी नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिए ।

बैठकमा नगरपालिकामार्फत सञ्चालन गरिएका विकास र सुशासनका कामका बारेमा जानकारी गराइएको र अरु पालिकाले गरिरहेका कामका बारेमा पनि अनुभव साटासाट गरिएको दशरथचन्द नगर प्रमुख पुष्करराज जोशीले बताए ।

स्थानीय तहमा रहेका न्यायिक समितिलाई सक्रिय बनाउन समितिका सदस्यलाई क्षमता अभिवृद्धि तालिम दिने, सीमा जोडिएका पालिकाले विपद् व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने, पालिकाबीच असल अभ्यास, समस्या लगायतका विषयमा बैठकमा छलफल भएको छ ।

प्रत्येक महिना फरकफरक पालिकामा सञ्चालन हुने अन्तरपालिका समन्वयात्मक अर्को बैठक आगामी भदौ १५ गते पाटन नगरपालिकामा बस्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।