भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित





भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार पाँच सय ३५ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार नौ सय २८ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १८ हजार ५३ जना कोरोना मुक्त भएका छन् ।

यसैसँगै कूल चार करोड ३५ लाख ७३ हजार ९४ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ४७ लाख १९ हजार ३४ मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९० लाख भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।