प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित





काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ ९ बमोजिम नेकपा माओवादी केन्द्र का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले अदालतको पत्रले तत्काल शपथ कार्यक्रम रोकिएको जानकारी दिए ।गैरसांसद छिरिङ डम्डुल लामा कार्चेनको कार्यकाल स्वतः सकिएपछि रिक्त मन्त्रालयको जिम्मेवारीमा माओवादी केन्द्रले डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई सिफारिस गरेको थियो ।

कार्चेन नियुक्तिविरुद्ध २०७८ माघ अन्तिम साता परेको रिट निवेदनको बुधबार अन्तिम सुनुवाइ गर्दै उच्च अदालतले मन्त्रिपरिषद् गठनमा समावेशी सिद्धान्त अपनाउन निर्देशनात्मक आदेश दिएको हो ।

आठ सदस्यीय मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व नभएपछि अदालतले फैसलाको जानकारी गराउँदै आदेशानुसार गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई ध्यानाकर्षण गराएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।