रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । आयोजनाका इञ्जिनियर प्रवीणप्रताप अधिकारीका अनुसार रु एक करोड ५४ लाखको लागतमा दुईतले नौकोठे भवन निर्माण गरिएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।

विसं २०७७ असार ११ गते तिलक निर्माण बागलुङसँग ठेक्का सम्झौता भएको भवन निर्माण कार्य राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विघटन भएपछि आयोजनाको कार्यालयलाई हस्तान्तरण भएको थियो । पन्ध्र महिनाको ठेक्काको म्याद कोरोना, स्थान परिवर्तन र जग्गा व्यवस्थापनका कारण २०७९ असार मसान्तसम्म थपिएको थियो ।

तिलक निर्माण सेवाका सञ्चालक भुपेन्द्र खड्काले सात महिनामा भवन निर्माण गरेर हस्तान्तरण गरेको बताए। झिँमा गत पुस÷माघ महिनामा सामुदायिक भवन भएको ठाउँको जग्गा व्यवस्थापन गरेपछि भवन निर्माण थालिएको थियो । भवन परिसरमा घेराबार, त्यहाँसम्म पुग्ने पदमार्ग, सडक र पहिरो रोकथामका लागि पर्खाल निर्माण भएको छ ।

भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, स्वास्थ्यकर्मीको कार्यकक्ष, आवास र प्रसूतिका लागि फरक फरक कोठा छन् ।

साँघुरो, पुरानो र जीर्ण भवनबाट सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई नयाँ भवनमा सारिएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । सुविधासम्पन्न भवन निर्माणसँगै स्वास्थ्य चौकीको सेवा प्रभावकारी र सहज हुने उनले अपेक्षा गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।