आधुनिक खोरमा किसानको आकर्षण


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित





बलेवा । जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले व्यावसायिक हुन आधुनिक बाख्राको खोर बनाएका छन । उनको खोरमा २५ वटा बाख्रा छन् । यसअघि परम्परागत खोरमा बाख्रा पालेका कृषक थापाले आधुनिक खोरमा राख्दा बाख्राले राम्रो उत्पादन दिने प्राविधिकको सल्लाहमा खोर बनाएको बताए ।

राङखानीकै एलु थापाले पनि बाख्रा र बङ्गुरको खोर बनाएका छन् । आधुनिक खोरमा बाख्रा र बङ्गुरको उत्पादन बढाउने उनको चाहना छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरेको कृृषि ज्ञान केन्द्रले किसानलाई लागतको ९० प्रतिशतसम्म अनुदान दिएपछि उनीहरु हौसिएर काम गर्दै आधुनिक खोर बनाएका हुन् ।

असारको पहिलो साता सम्झौता गरेका यहाँका ३० किसानले आधुनिक खोर बनाइसकेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । बाख्राको खोर बनाउनेलाई केन्द्रले रु ४० हजार लगानी गरेको र त्यसमा किसानले रु चार हजार ४०० आफ्नो लगानी थप्नुपर्छ । त्यस्तै बङ्गुरको खोर बनाउन केन्द्रले रु ५० हजार दिँदा किसानले रु पाँच हजार लगानी गरेका छन् ।

विपन्न बस्ती छनोट गरेर लगानीका लागिसमेत समन्वय प्रमुखकै अध्यक्षतामा समिति गठन हुन्छ । उक्त समितिले गरेको निर्णयपछि मात्रै बजेटका लािग माग गरिने प्रावधान छ । माग गरेको बजेट ढिला आए पनि समयमा काम सकेकाको आवश्यकता देखिएको समन्वय समिति प्रमुख थापाले बताए ।

यहाँ दलित र मगर विपन्न बस्तीका रुपमा सूचीकृत भएका छन् । चालु वर्षका लागि उक्त केन्द्रमा रु ३५ लाख ३५ हजार बजेट आएकामा तिनलाई ४१ वटा खोरमा लगानी गरिएको र त्यसबाहेक कृषि फसल उत्पादन गर्ने किसान, प्लास्टिक टनेल, बेमौसमी उत्पादनलगायतमा पनि लगानी भएको उनको भनाइ थियो ।

किसानले खोर बनाएपछि बोयर बोका पाल्ने योजना पनि सुनाए । केही किसानले बङ्गुरको सङ्ख्या बढाएर व्यावसायिक बन्ने योजना बनाएका छन् । किसानले सूर्यमुखी किसान समूह गठन गरेर विपन्न बस्ती समेटेका छन् ।

अनुगमनपछि उपयुक्त ठहर भएका योजनामा मात्रै भुक्तानी गर्ने केन्द्रका प्रमुख भट्टराइले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि राङखानीका किसानका लागि लगानी गरिएको छ ।

पाहीकै केदार आचार्यले निर्माण गरेको सुन्तला बिरुवाको नर्सरी निर्माणमा रु १५ लाख लगानी गरिएको परियोजनाका निमित्त प्रमुख सुजित पौडेलले बताए । अनुसन्धान केन्द्र तथा बिरुवाको स्रोत केन्द्र बनाउन उनले यहाँ रु ५० लाखभन्दा बढी लगानी गरेका छछन।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।