फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउनदेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको क्याप्सुल खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा सापकोटाले बताए ।
नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका किशोरीको सङ्ख्या यति नै छ भन्ने तथ्याङ्क नभएको भए पनि यो अभियानको पहिलो चरण पूरा हुने बेलामा सङ्ख्या यकीन हुने उनको भनाइ छ । पहिलो चरणमा साउनदेखि असोजसम्मका १३ हप्ता र दोस्रो चरणमा माघदेखि चैतसम्मका १३ हप्ता गरी एक किशोरीले एक वर्षमा कूल २६ क्याप्सुल खाने छन् ।
क्याप्सुल खुवाउनका लागि हरेक हप्ता स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका विद्यालयमा पुग्नेछन् । नगरभरि नै अभियान चलेका कारण स्वास्थ्यकर्मीको अभाव भएमा विद्यार्थीको चाप केही कम रहेका विद्यालयमा भने शिक्षकलाई जिम्मेवारी दिएर क्याप्सुल खुवाइने छ ।
‘जङ्क फुड’ तथा आफूले दैनिकरूपमा खाने भोजनमा पनि सन्तुलन नमिलाएका कारण धेरै किशोरीमा रक्तअल्पता र कुपोषणको समस्या देखिँदै गएका विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छन् । किशोरी नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चा पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनःकुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियान थालिएको सापकोटाको भनाइ छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी…






