भोजपुर । यहाँको ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग सङ्कटमा पर्न थालेका छन् । खास गरेर पुस्तान्तरण नहुँदा भाडा बनाउने पेशा सङ्कटमा पर्दै गएको हो । बसाइँसराइ तथा दक्ष जनशक्तिको अभावले पनि उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुगेको स्थानीयवासीको भनाइ छ ।
राणाकालीन समयदेखि सञ्चालनमा आएका यहाँका उद्योगले त्यो समयमा लाखौँ मूल्यका धातुका सामग्री उत्पादन गर्दै आएका भए पनि अहिले अधिकांश बन्द हँुदै गएका छन् । तत्कालीन समयमा रामप्रसाद राई गाउँपालिकाको धोद्लेखानीमा रहेको खानीबाट तामा ल्याएर सामग्री बनाउने चलन थियो । अहिले त्यो खानी पनि बन्द भइसकेको छ ।
विगतमा विभिन्न धातुका सामग्री बनाउने २२ उद्योग रहेकामा अहिले सात मात्र सञ्चालनमा रहेको धातु उद्योग सञ्चालन गर्दै आएका स्थानीय व्यवसायी विमलकुमार शाक्यले जानकारी दिए । सातमध्ये दुईले तामा र पिलतका भाँडाकुँडा बनाउछन् भने अन्य पाँच उद्योगले काँसका भाँडाकुँडा बनाउने गरेको व्यवसायी शाक्यले बताए ।
नयाँ पुस्तामा छिटो लाभ लिने व्यवसायप्रति मोह बढेका कारण यस्तो पेशा गर्न नरुचाउने उनको भनाइ छ । बाबुबाजेले गरेको काम आफुले गरिरहेको भए पनि अबको तेश्रो पुस्ताले यो पेशा गर्न नचाहेको शाक्यले बताए ।
नयाँ प्रविधिको विकास गरेर नयाँ पुस्तालाई सिकाउन सके व्यवसायलाई बचाउन सकिने शाक्यले बताए । शाक्यले १० वर्षको उमेर हुँदा विसं २०३५ बाट धातुको काम गर्दै आएको बताए ।
वार्षिक कारोबार रु १२ देखि १५ लाखको भए पनि आम्दानी भने रु तीनदेखि चार लाखसम्म हुने उनको भनाइ छ । हातको सहायताले विभिन्न धातुका सामग्री बन्ने भएकाले यहाँ उत्पादन भएका सामग्रीको छुट्टै महत्व रहेको छ ।
राणा शासनकालदेखि प्रसिद्धि कमाएका टक्सार धातु उद्योग बन्द हुँदै गएपछि बजार क्षेत्रसमेत सुनसान देखिन्छ । यहाँ बनेका धातुका सामग्रीको बजार माग भने धेरै रहेको व्यवसायी बताउँछन् ।
दक्ष जनशक्ति तथा श्रोतसाधनको अभावका कारण देशकै पुरानो धातु उद्योगहरु मध्येको टक्सारका धातु उद्योग सङ्कटमा पर्दै गएकोप्रति स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । टक्सारका धातु उद्योग र टक्सारको मौलिक पहिचानलाई जीवित गराउन सरकार तथा स्थानीयस्तरबाट अभिप्रेरित गराउनुपर्ने स्थानीयको माग छ ।
मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक श्रोतसाधन उपलब्ध गराउन जरुरी रहेको स्थानीयवासी कुमारप्रसाद श्रेष्ठले बताए । यहाँ काँसको करुवा, डाडुपन्यू, कसौडी, आङ्खोरा, बटुका, थाल, डबका, तामा एवं पित्तलका गाग्री, खड्कुला, तसला बन्ने गरेका छन् ।
यहाँका भाँडा बनाउन धरान, विराटनगर, काठमाण्डौँलगायत ठाँउबाट आवश्यक पर्ने काँससहितका कच्चा पदार्थ ल्याइने गरिएको छ । दश वर्ष अघितिर वनले कोइला गोल काट्न रोक लगाएकाले धेरै व्यवसायीले पेशा छाडेको व्यवसायी प्रेम उदासले बताए । त्यो समयमा कोइलाको धेरै अभाव भएको उनले अनुभव सुनाए ।
अहिले भने सबै व्यावसायी मिलेर वनसँग सम्झौता गरेर कोइला ल्याउने गरेकोले अभाव नरहेको उनको भनाइ छ । हातको सहायताले निर्माण गरिएको एक नम्बर काँसको करुवा प्रतिकिलो रु तीन हजार पाँच सयमा बिक्री हुनेगरेको छ । करुवाको तौलअनुसार मूल्य फरक पर्ने उनको भनाइ छ ।
विभिन्न बुट्टा बनाएर करुवा बनाइने भएकाले टक्सारे करुवाको माग बढी रहेको उनको भनाइ छ । यहाँ उत्पादन भएका करुवा, कचौरा, थाललगायत अत्यधिक माग भए पनि पूरा गर्न समस्या रहेको उदासको भनाइ छ । यो व्यवसायबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने गरेको उनले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






