‘टिम्स’ लाई व्यवस्थित र प्रभावकारी बनाइन्छ ः पर्यटनमन्त्री श्रेष्ठ


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित





काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदयात्रा सूचना व्यवस्थापन प्रणाली टिम्सलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपालको ४४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पर्यटन व्यवसायीसँग छलफल गरेर टिम्सको समस्या चाँडो समाधान गरिने बताएका छन ।

मन्त्री श्रेष्ठले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुली खुला गर्दै जाने सरकारको नीति रहेको बताएका हुन । उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताए ।

मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढेको जानकारी दिए ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना महामारीबाट थलिएको पर्यटन पुनःउत्थानका लागि नीतिगत सुधार एवं योजनावद्ध कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय टिम्स व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै यसलाई समाधान गर्न सरकारले पहल लिन आग्रह गरे।

राससकर्मी रेग्मीसहित पत्रकार पुरस्कृत

कार्यक्रममा पर्यटन पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, नेपाल टेलिभिजनका आर्थिक समाचार प्रमुख प्रदीपकुमार चापागाइँ, न्यूज एजेन्सी नेपालका प्रबन्ध निर्देशक सविन धमला, न्यूज लाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, पत्रकार सुवास योञ्जन, टिपी भुसाल, शङ्कर पण्डित, सरोज ओझालगायतलाई टान जर्नालिज्म अवार्डद्वारा पुरस्कृत गरिएको थियो ।

उनीहरुलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा टिम्स बिक्री गर्ने उत्कृष्ट १० कम्पनीलाई सम्मान गरिएको थियो । यस्तै, १७ वर्षको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने स्वर्गीय शम्भु तामाङलाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।

टानको आज हुने निर्वाचनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । टानको नेतृत्वका लागि निलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारी प्यानलसहित प्रतिस्पर्धामा छन । टानको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । टान निर्वाचनमा एक हजार दुई सय ५० मतदाता रहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।