नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहज : मन्त्री थापा


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित




पोखरा ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता मिल्ने बताए । पोखरा महानगरपालिका वडा नं ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भवनको मन्त्री थापासँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
‘पोखरा ८ नयाँबजार दमकल मार्गमा निर्माण भएको बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्नेछ’, उनले भने, ‘सामाजिक,धार्मिक लगायतका कार्यक्रमहरुका लागि भवनका माध्यम सहजता मिल्नेछ ।’ मन्त्री थापाले भवन परिसरमा निर्माण भएको शिव र सरस्वतीको मन्दिरले उक्त ठाउँको महत्वलाई दर्शाउने अभिव्यक्ति दिए । समाजमा रहेका विकृति विसंगति न्यूनिकरण गर्दै समुन्नत, परिस्कृत र सुसभ्य सहितको आधुनिक समाज निर्माणमा सबैको पहलकदमी हुनुपर्ने आवश्यकतलाई उहाँले औंल्याए । कला, संस्कृति, भाषा, धर्म तथा परम्पराको संरक्षण सम्बद्र्धमा सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समिति लाग्ने विश्वास मन्त्री थापाको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर र दमकलमार्ग बासीमा हिजो देखिएका तित्ततालाई मेट्दै जाने प्रतिबद्धता व्यक्त गरे । । उनले नयाँबजारमा स्थापना गरिएको बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वास लिए । मेयर आचार्यले भवन विभिन्न सामाजिक परम्परा तथा सांस्कृतिक विविधताले भरिपूर्ण समाजका गतिविधिहरु तालिम तथा सेमिनार, भेला तथा शिविर सञ्चालनका लागि उपयोगी बन्ने धारणा प्रस्तुत गरे । टोल, समाज र वडाको विकासमा महानगर सँधै साथमा रहेको भनाई उनको थियो ।
पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गरे । उनले स्थानीयका सोच र विचार सँगै वडा साथमा रहेको भनाई राखे । अध्यक्ष बरालले आफु सँधै वडा विकासको पथमा लम्कीरहेको र स्थानीयका समस्यालाई समाधान गर्न पहलकदमी गरिरहेको बताए ।
सरस्वती मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले एतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताए । उनले मन्दिर लगायत सामाजिक भवन निर्माणमा सहयोग गर्ने संघ,प्रदेश र स्थानीय सरकारलाई आभार व्यक्ति गरे । साथै व्यत्तिगत रुपमा आर्थिक सहयोग गरी भवन तथा मन्दिर निर्माण कार्यलाई सफलता प्रदान गर्नेहरुलाई समेत उनले धन्यवाद दिए ।
कार्यक्रममा नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माण मूल समितिका कोषाध्यक्ष पूर्ण बहादुर राना मगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । उनका अनुसार सामाजिक भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । २ करोड १९ लाख ४३ लाख २ सय ८२ आम्दानी हुँदा बैंक मौज्दात १३ लाख ६१ हजार १ सय ४१ रहेको जानकारी उनले गरे । महासचिव धिरज थापाले समितिले गरेका कार्यहरुको बारेमा जानकारी गराए । रामबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्माकुमार इश्वर विद्यालयकी शोभा दिदी लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।