वि.व्य.समिति, अभिभावक र प्रधानाध्यापक चनाखो भएर क्रियाशिल हुनसके मात्र शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ : राष्ट्रपति


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित




पोखरा, साउन ३१

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक शिक्षको क्षेत्रमा लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त नभएको जनगुनासो रहेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको नव निर्मित भवनको समुद्घाटन तथा हीरक जयन्ती समापन समारोह कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भनिन्,‘सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा गरिएको लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको जनगुनासो भएपनि विन्ध्यबासिनी माविलगायतका केहि विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुशी व्यक्त गर्दछु ।’

राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानिय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक पर्ने बताईन् । त्यसमा पनि विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापक चनाखो भएर क्रियाशिल हुनसके मात्र सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम गर्न सकिने उनको भनाई थियो ।

राष्ट्रपति भण्डारीले शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य र सक्षम प्रतिष्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्ने बताईन् । उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनिहरुको उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य हुनुपर्नेमा जोड दिईन् ।

राष्ट्रपति भण्डारीले प्राकृतिक श्रोत र सांस्कृतिक सम्पदाहरुमा आधारित उद्यमशिलता प्रवद्र्धन गर्नका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ शैक्षिक गतिविधिहरु उन्मुख हुनुपर्ने बताईन् । ‘सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो । मुलुकको सर्वाङ्गिण विकास गर्ने आधार शिक्षा नै हो । गुणस्तरिय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित स्थापित गर्नु आजको आवश्यक्ता हो ।’–उनले भनिन् ।

राष्ट्रपति भण्डारीले एक्काईसौं शताव्दीको आवश्यक्ता अनुरुप विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको महत्वलाई आत्मसाथ गर्नुपर्ने बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।