नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित





काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७।८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मुलुकमा औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकताका लागि खाद्यान्न पर्याप्त नै भए पनि खाद्य असुरक्षा भने कायमै रहेको बताउछन ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथि विभागले संयुक्तरुपमा आयोजना गरेको ‘नेपालमा खाद्य सुरक्षा’को अबस्था विषयक गोष्ठीमा उनले यो तथ्य प्रस्तुत गरेका हुन ।

उनका अनुसार मुख्य गरी खाद्यान्नको प्रयोग, सर्वसाधाराणको पहुँच नहुनु, सर्वसुलभ र गुणस्तर नहुनु, प्राकृतिक विपत्ति, जलवायु परिवर्तनको असर, कृत्रिम अभावले उत्पादनमा पु¥याएको असर, कोभिड–१९ तथा राष्ट्रिय एबं अन्तर्राष्ट्रिय बजारमा कृषि सामग्रीको मूल्य उतारचढावका कारण खाद्यान्न आपूर्तिमा अनिश्चितता देखिएको हो ।

यसका साथै कृषि कर्मबाट युवा शक्तिको पलायन, जमिनको बाँझोपन तथा रोग किराको आक्रमणलगायत कारणले खाद्य सुरक्षामा चुनौती थपिँदै आएको छ । सामान्य मानिसलाई आफ्नो दैनिक क्रियाकलापका लागि सक्रिय रहन हरेक व्यक्तिका लागि दैनिक दुई हजार दुई सय क्यालोरी शक्ति आवश्यक पर्छ । यसको मुख्य सवाल खाद्यान्नको उपलब्धता नै हो ।

संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् १९९६ ले खाद्य सुरक्षालाई हरेक व्यक्तिले सक्रिय र स्वास्थ्य जीवनयापनका लागि आफ्नो चाहना र आवश्यकतानुरुप सधैँ पर्याप्त स्वच्छ र पोषणयुक्त खानामाथि भौतिक, सामाजिक र आर्थिक पहुँच भएको अवस्था हो भनी परिभाषित गरेको छ ।

नेपालको १५औँ पञ्चवर्र्षीय योजनामा उल्लेख भएअनुसार नेपालमा २१ प्रतिशत मानिसले अझै पनि पर्याप्त खाना नपाएको उल्लेख छ । खाद्य आवश्यकताको आधारभूत सुरक्षा स्थितिमा रहेका घरपरिवार केवल ४८।२ प्रतिशत मात्रै रहेको उल्लेख गरिएको छ । सरकारी तथ्याङकमा आव २०७८÷७९ मा प्रतिव्यक्ति तीन सय ६९ किलो खाद्यान्न उत्पादन भएको अनुमान छ ।

यसबाट बीउ, पशुआहार भण्डारण तथा प्रशोधन र नोक्सानी कटाएर प्रतिव्यक्ति अनुमानित दुई सय ५७ किलो उपभोग योग्य खाद्यान्न रहेको अनुमान छ । यो औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकता शक्ति प्राप्तिका लागि पर्याप्त नै भएको मन्त्री यादवले बताए ।

आव ७८÷७९ मा नेपालको कुल वार्षिक खाद्यान्न उत्पादन एक करोड सात लाख ७२ हजार मेट्रिक टन पुगेको छ । यसबाट बीउ, पशुआहार भण्डारण, प्रशोधन, नोक्सानीलगायत कटाएर झन्डै ७५ लाख ३० हजार मेट्रिक टन उपभोग योग्य खाद्यान्न प्राप्त भएको अनुमान छ ।

विसं २०७८ को एक अभिलेखअनुसार देशको जनसङ्ख्याका लागि वार्षिक करिब ५८ लाख ६७ हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक हुन आउँछ । उता चामलको आयात भने अनपेक्षित देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागको वार्षिक घरधुरी सर्वेक्षण प्रतिवेदन, २०१७ अनुसार मसिनो चामलको उपभोग बढ्दो क्रममा रहेको छ ।

चालमको उत्पादनले उपभोग धान्न सकेको छैन । तर ठीक विपरीत अन्य अन्न बालीमा उत्पादनको ठूलो परिमाण उपभोग भइरहेको छ । खाद्य तथा पोषण सुरक्षाका हिसाबमा कोदो तथा फापर जस्ता बालीको योगदान अझै मूलधारमा आउन सकेको छैन ।

खाद्य तथा पोषण सुरक्षाका दृष्टिले मानिसलाई दैनिक आवश्यक पर्ने कुल क्यालोरीको ७७ प्रतिशत हिस्सा वनस्पतिजन्य पदार्थ र बाँकी पशुपक्षीजन्य पदार्थबाट आपूर्ति हुनुपर्नेमा दैनिक आवश्यक क्यालोरीको आपूर्ति यसअनुसार नभएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिव्यक्ति प्रतिदिन चाहिनेमध्ये ८७ प्रतिशत वनस्पतिजन्य पदार्थबाट र बाँकी दूध, दही मासु, अन्डालगायत पशुपक्षीजन्य पदार्थबाट प्राप्त भएको देखिएको छ । उत्पादनका हिसाबले माछा, मासु, अण्डामा आत्मनिर्भर भएको तथ्याङ्कले देखाउँछ भने दूधमा आत्मर्नभिरताको नजिक रहेको मन्त्री यादवले बताए ।

यस हिसाबले खाद्य तथा सन्तुलित उपभोगमा पोषण सुरक्षाका लागि पशुपक्षीजन्य उत्पादन र आपूर्तिका साथै उपभोग बढी गर्नुपर्ने देखिएको छ । यसका लागि मन्त्रालयले खाद्य सुरक्षाका लागि विशेष जोड दिइरहेको उनले जानकारी दिएका छन ।

उत्पादनमा वृद्धिका लागि सिचाइ सुविधा विस्तारका साथै उन्नत बीउ, नस्लको उपलब्धतासँगै आधुनिकीकरण तथा व्यवसायिकीकरणमा थप लगानी गर्नुपर्ने आवश्यकता छ ।

यसका साथै खाद्य तथा पोषण क्षेत्रमा देखिएका चुनौती सामनाका लागि अनुसन्धान, प्रविधि विस्तार पूर्वाधार विस्तारलगातयका कर्यक्रममा तीनै तहका सरकार, गैरसरकी निजी तथा विकास साझेदारहरुसँग सहकार्य आवश्यकता रहेको औँल्याइएको छ ।

यसलाई साझा जिम्मेवारीका रुपमा प्राथमिकताका साथ जिम्मेवारी निभाउनुपर्नेमा उनले जोड दिएका छन । उक्त गोष्ठीमा रक्षा सचिव तथा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका संयोजक किरणराज शर्माले समसामयिक विषयमा यस प्रकारको सेमिनार पहिलो पटक आयोजना गरिएको जानकारी दिए ।

विश्वव्यापी मानवअधिकार घोषणपत्र सन् १९४८ को दफा २५ मा हरेक व्यक्तिलाई गाँस, बास, कपास र औषधोपचारको अधिकार रहेको छ । आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध सन् १९६६ को धारा ११ मा पनि हरेक नागरिकलाई भोक मेटाउन पाउने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ ।

संयोजक शर्माले खाद्य सुरक्षा मानव सुरक्षासँग मात्रै नभई समग्र विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसतर्फ केन्द्रित कार्यक्रम आयोजना गरिएको जानकारी दिए । दोस्रो विश्वयुद्धपछि जनसङ्ख्याको तीव्र वृद्धि, प्रकोप, खाद्यान्न र स्रोतको सीमितता भोमकरीलगायत समस्याका कारण विश्वव्यापी रुपमा खाद्य सुरक्षा र महत्वको बोध भएको हो ।

सन् १९७४ मा आयोजित विश्व खाद्य सम्मेलनले खाद्यपदार्थलाई आधारभूत आवश्यकताका रुपमा स्वीकार गर्र्दै त्यसको मात्रा, मूल्य र आपूर्तिलाई स्थिर बनाउनुपर्नेमा जोड दिइएको थियो । सन् १९९६ मा रोममा भएको सम्मेलनले हरेक व्यक्तिमा आफ्नो आवश्यकताअनुसार स्वच्छ र पोषणयुक्त खानामाथि भौतिक एवं आर्थिक पहुँच भएमा मात्रै खाद्य सुरक्षा भएको मान्न सकिने उल्लेख छ ।

सचिव शर्मा नेपाल कृषि प्रधान देश भएर पनि आवश्यकताअनुसार खाद्यान्नको उत्पादन हुन नसक्नु दुःखद हो भन्नुहुन्छ । उहाँ निर्वाहमुखी र परम्परागत कृषि प्रणाली, कृषियोग्य जमिनको उपलब्धता र वितरणमा असमानता, कृषियोग्य जमिनको बनावटमा जटिलता र कृषिमाथिको अत्यधिक निर्भरताका कारण मुलुकको ठूलो सङ्ख्या खाद्य सुरक्षाबाट वञ्चित रहनुपरेको बताउछन ।

नेपालमा ६० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित छ भने कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत छ । नेपालमा वार्षिक ६ लाख मेट्रिक टन खाद्यान्न अपुग रहेको तथ्याङ्क छ ।

विश्वव्यापी सङ्कटका रुपमा देखिएको कोभिड–१९, रुस–युक्रेन युद्ध र सोबाट खाद्यान्न एवं इन्धन आपूर्तिमा परेको असर र विभिन्न मुलुकले लिइरहेको खाद्य आयात÷निर्यातसम्बन्धी परिवर्तित नीति लगायतका कारण नेपालमा पनि खाद्य सुरक्षामा ठूलो प्रभाव परिरहेको विज्ञहरुको निष्कर्ष छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।