पाँच वर्षमा ४८ कानुन निर्माण


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित




वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् ।

त्यसैगरी, आठ विधेयकहरु विषयगत समितिमा छलफलका क्रममा छन् । प्रदेशसभाको सुरुआतमा कानुन निर्माणलाई प्राथमिकता दिइएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीको मारमा परेको छ । सुरुका तीन वर्षमा ३८ कानुन बनाएको प्रदेशसभाले त्यसयताको डेढ वर्षमा १० वटा कानुन बनाएको हो ।

सत्ता फेरबदलको खेलमा केन्द्रित हुँदा गत वर्ष संसद्मा एउटा पनि विधेयक पारित हुन सकेन । सत्ता प्रतिपक्षको बेमेलका कारण संसद् अवरोध हुँदा कतिपय अवस्थामा अत्यावश्यक कानुन निर्माणको साटो सरकारले अध्यादेशको सहारासमेत लिएको थियो ।

प्रदेशसभाको मुख्य काम सरकार निर्माण गर्ने, प्रादेशिक कानुन बनाउने, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्ने तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने हो । प्रदेशसभाको हालसम्मका कामलाई हेर्दा उत्साहपूूर्ण नै रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताए ।

उनले कर्णालीको प्रदेशसभामा केही समय अलमलको स्थिति देखिएपनि कामहरु निरन्तर अगाडि बढेको औँल्याए । प्रदेशसभाले अन्य प्रदेशको तुलनामा केही राम्रा अभ्यासको सुरुवातसमेत गरेको सभामुख शाहीले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।