बाह्य पर्यटकको मुख्य गन्तव्य बन्दै मनाङ


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित




बाह्य पर्यटकहरू पछिल्लो समय मनाङलाई मुख्य गन्तव्य बनाएर नेपाल आउने गरेको पाइएको छ ।

अग्र्यानिक खाद्यवस्तु, प्राकृतिक रहनसहन र रमणीय वातावरणका कारण मनाङमा बाह्य पर्यटकको आकर्षण बढेको हो ।

विदेशी पर्यटक नेपाल आउँदा मनाङलाई भ्रमणको मुख्यसूचीमा समेट्ने गरेका छन् । सबैभन्दा उचाईमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृश्यको अनुभव लिन उनीहरू मनाङ आउने गर्दछन् ।

विगतका दुई वर्ष कोभिडको संक्रमणले पर्यटक आगमन ठप्प भयो । गत आर्थिक वर्षमा भने कोभिडको संक्रमण केही मत्थर हुँदै गएपछि मनाङ भित्रिने बाह्य पर्यटकको संख्या बढेको छ । आव २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने विदेशी पर्यटक बढेको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षमा नेपाल आएका २ लाख ८५ हजार ३६३ बाह्य पर्यटकमध्ये मनाङमा मात्र ७ हजार २० पर्यटक भित्रिए । सो अवधिमा पुरुष पर्यटक ४ हजार ७४९ र महिला पर्यटक २ हजार २७१ जना मनाङ भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार गत आवको कात्तिक, चैत र वैशाखमा बढी विदेशी पर्यटक मनाङ भित्रिएका थिए । एक्यापको पर्यटक जाँच केन्द्र धारापानीमा अनुमति प्रवेश लिएको आधारमा उक्त तथ्यांक संकलन गरिएको हो ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।