रानीवनमा थारुग्राम


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित





घोराही । दङ्गीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । बयासी बिघा जमिन रहेकोे रानीवनको उत्तर र पश्चिम क्षेत्रमा उक्त ग्राम तथा पार्क निर्माणले पूर्णता पाउन लागेको छ । थारु समुदायको कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रानी वनमा करिब दुई करोड लगानीमा उक्त ग्राम तथा पार्क निर्माण थालिएकोे हो ।

निर्माणको चरणमै रहेको सांस्कृतिक पार्क तथा ग्राममा थारु समुदायको पहिचान झल्किने परम्परागत सामग्री, थारु परिकार, पिकनिक स्पटलगायत सामग्री राखिने राख्ने तयारी भएको छ । थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन गर्नाका साथै थारु समुदायको पहिचान झल्किने परम्परागत विविध सामग्रीको खोजी, सङ्कलन र संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउने उद्देश्यले सांस्कृतिक ग्राम निर्माण गरिएको उक्त गाउँपालिकाका पूर्वअध्यक्ष भागीराम चौधरीले जानकारी दिए ।

यस गाउँपालिकालाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा पर्यटनको विकासमा सहयोग पु¥याउने मुख्य लक्ष्य रहेको उनको भनाइ थियो । यसलाई कसरी व्यवस्थित, प्रभावकारी बनाएर कार्यान्वयनमा ल्याइने कुराले महत्व राख्ने उनको धारणा थियो । गाउँपालिकाको पहल र लुम्बिनी प्रदेश सरकारको सहयोगमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो ।

यस कार्यका लागि गाउँपालिकाले करिब रु दुई करोड लगानी गरेकामा ग्रामको भवन निर्माणका लागि हालसम्म करिब डेढ करोड र पार्क निर्माणका लागि जनश्रमदानसहित ५५ लाख खर्च भइसकेको छ । गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले दङ्गीशरणमा निर्माण गरिएको थारु सांस्कृतिक ग्राम तथा पार्कको अधुरा कामलाई पूर्णता दिएर थप व्यवस्थित बनाइने बताएका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।